दुई पक्षबीच सहमति हुन नसक्दा एमाले स्थायी कमिटिले पूर्णता पाएन

357
  •  
  •  
  •  

umlकाठमाडौं, २७ मंसिर (ओएनएस) : नेकपा एमालेले स्थायी कमिटिमा बरिष्ठ नेता माधवकुमार नेपाल र मुकुन्द न्यौपानेलाई सर्वसम्मत चयन गरेको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले दुई सदस्य थप गरेपछि २१ सदस्यीय स्थायी कमिटि अब १७ सदस्यीय भएको छ ।

अध्यक्ष केपी शर्मा ओली र नेपालपक्षबीच सहमति नहुँदा केन्द्रीय समितिले बाँकी ४ जना स्थायी कमिटि चयन गर्न भने सकेन । स्थायी समितिमा १४ जना पदाधिकारी तथा वरिष्ठ नेता झलानाथ स्वत स्थायी कमिटि सदस्य हुने प्रावधान छ ।

बाँकी ४ जनामा स्थायी कमिटिमा केपी पक्षबाट शंकर पोखरेललाई चयन गर्ने तयारी रहेको स्रोतले बतायो । पोखरेललाई स्थायी समितिमा ल्याउदा सुरेन्द्र पाण्डेलाई पनि चयन गर्नु पर्ने नेपाल पक्षले अडान लिएका छन् । यस्तै अन्य सदस्यमा मधेशी कोटाबाट ओली पक्षले रामपृत पासवान र नेपाल पक्षले लालबाबु पण्डितको नाम अघि सारेको छ ।

केन्द्रीय समितिको बैठक बस्नुअघि नेकपा एमालेको पोलिटब्युरो सदस्यको निर्वाचन आइतबार हुने तय भएको थियो । शुक्रबार केन्द्रीय समितिको बैठकले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई सहमतिमा पोलिटब्युरो सदस्य चयन गर्ने जिम्मा दिएको थियो ।

तर दुबै नेताहरुले शनिबार समति गर्ने प्रयास गरेपनि निश्कर्षमा नपुगेपछि चुनावी प्रक्रिया आइतबारको लागि सारिएको हो । पोलिटब्युरो सदस्यहरूको चयन भएपछि स्थायी कमिटी चयन गर्ने अभ्यास भएपनि दुई पक्षबीच विवाद भएपछि पहिले नै स्थायी समिति चयन भएको हो । आइतबार बिहानसम्म सहमति नभएमा निर्वाचनबाट चयन हुनेछ ।

गत असारमा सम्पन्न पार्टीको नवौँ महाधिवेशनमा अध्यक्षमा ओली र नेपाल समूहबीच प्रतिस्पर्धा भएका कारण छ महिना बित्न लाग्दा पनि आन्तरिक जीवनमा त्यसको नकारात्मक असर परेकाले शीर्ष नेताबीच सहमतिका लागि पहिलोपटक प्रयास गरिएको हो ।

पार्टी विधानको व्यवस्थाअनुसार केन्द्रीय कमिटीका ११७ जना पूर्ण सदस्यले मतदाताका रूपमा मताधिकार प्रयोग गर्न सक्ने र स्थायी कमिटीको उम्मेदवार हुन केन्द्रीय कमिटीको पूर्ण सदस्य भई एक कार्यकाल पूरा गरेको हुनुपर्ने तथा पोलिटब्युरो सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने छ ।


  •  
  •  
  •