प्रक्रियाबाट संविधान जारी गरे सडकबाट अर्को संविधान घोषणा गर्ने चेतावनी

79
  •  
  •  
  •  

काठमाडौ, १२ असोज (ओएनएस) मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमतिबाट संविधान जारी गर्नुपर्ने भन्दै बहुमतको दम्भ देखाएर प्रक्रियाबाट संविधान जारी गरिए आफूहरुलाई स्विकार्य नहुने बताएका छन् । रिपोर्टर्स क्लबले आइतवार गरेको साक्षात्कारमा उनले पुरानै संविधानसभाका विषयहरुलाई सहमति भयो भनेर प्रचार गर्ने गरेको भन्दै संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणालीको विषयमा अहिलेसम्म कुनै छलफल हुन नसकेको स्पष्ट पारे ।

‘विवादित विषयमहरुमा कुनै छलफल हुन सकेको छैन, यादवले भने,‘ यथास्थितिमा माघ ८ गते कुनै पनि हालतमा नयाँ संविधान आउन सक्दैन । सहमति जुटाउनु पर्ने नेताहरु सबै विदेश भ्रमणमा छन । संबाद समितिमा पनि नेताहरुको न्यून उपस्थिति हुन्छ अनि कसरी छलफल हुन्छ ।’

उनले नेपाली काग्रेस र नेकपा एमालेले सहमति नगरी प्रक्रियाबाट संविधान जारी गरे आफूहरुलाई कुनै पनि हालतमा स्विकार्य नहुने स्पष्ट पार्दै त्यस्तो अवस्थामा संविधानसभा छाडेर सडक आन्दोलनमार्फत नयाँ संविधान घोषणा गर्ने चेतावनी दिए ।

राज्यपुर्नसंरचनाको बटमलाइनमा तलमाथि नहुने र संघीयता सहितको संविधान चाहिने स्पष्ट पार्दै यादवले उत्तरदक्षिण संघीयताको कुरा उठाएर ठूला दलहरु संघीयताबाट भाग्न खाजेको ठोकुवा गरे ।
मुलुकको स्थायीत्वको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफूहरु भएको स्पष्ट पार्दै उनले अहिलेकै ब्यवस्थाबाट मुलुकको राजनीति स्थिर हुन नसक्ने बताए ।
यादवले डा. सीके राउतले उठाएको मुद्दा असान्दर्भिक भएकोले त्यसमा आफूहरुको समर्थन नरहेको स्पष्ट पार्दै सरकारले राउतलाई पक्राउ गरेर हिरो बनाउने प्रयास गरेकोले पक्राउ र राउतको दुबै मुद्दामा आफूहरुको लागि स्विकार्य नभएको बताए ।

उनले संसदमा जारी अवरोध खोल्न सरकारले विगतमा भएको चार बुँदे सहमति कार्यान्वयन गराउनै पर्नेमा जोड दिए ।
मधेसवादी दलहरुवीचको एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्दे उनले मुद्दामा एकता रहेकोले कार्यगत एकता भने हुन सक्ने बताए । उनले भने–‘‘तत्काल एकता सम्भव छैन, तर हामी अहिले कार्यगत एकता गरेर अघि बढ्न चाही सक्छौं ।’’


  •  
  •  
  •