काठमाडौँ, १२ चैत(ओएनएस) : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको १० बुँदे सम्झौतामा कुनै नयाँ विषय नभएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष यादवले सम्झौतामा सन् २००९ मा नै अगाडि बढेका कुराहरू नै रहेको भन्दै जलस्रोत, सञ्चार, यातायात, मानव संसाधानको विकास र तत्कालिन आवश्यकतामा प्रधानमन्त्रीले केही गर्न नसकेको दावी गरेका छन् ।
उनले चीनले नेपाललाई सक्दो सहयोग गर्न चाहेको भएपनि ओली नेतृत्व सरकारसँग त्यसलाई प्राप्त गर्ने क्षमता नभएको दावी गर्दै माग्नेको भाँडो नै सानो भएको टिप्पणी गरेका छन् । चीन नेपालको नजिकको छिमेकी भएकाले सम्बन्ध राम्रो भएको भन्दै उनले यसमा ओलीको खुबीको कुनै प्रयोग नभएको उल्लेख गरेका छन् । उनले भने, ‘अहिले भएको धेरै कुरा नेपाल र चीनले पहिला नै प्रस्ताव गरेका कुराहरु छन । चीन नेपाललाई धेरै सहयोग गर्न चाहन्छ । तर यो सरकार कुटनीतिक रुपमा असफल रहेकोले धेरै ठाँउमा चुकेको छ । ’
उनले प्रधानमन्त्री ओली सरकार आफ्ना छिमेकीहरूसँग सुमधुर सम्बन्ध राखेर जानका लागि असफल भएको बताएका छन् । देशको समस्या समाधानका लागि सरकारसँग चैत मसान्तसम्मको मात्र समय रहेको भन्दै उनले चैतपछि आन्दोलन निश्चित रहेको बताएका छन् । उनले भने,‘ तराई, पहाड, हिमाल मिलेर अब शान्तिपूर्ण, अहिंसात्मक संयूक्त जनआन्दोलन हुन्छ । नेपाली जनता अब अधिकार विहीन भएर महंगी, भ्रंष्टाचार र कालाबजारी सहेर बस्दैन । जनता विद्रोहमा जान्छ । सरकारसँग चैत महिना भरिको अवसर छ तर मलाई लाग्दैन यो सरकारले समयमको सदुपयोग गर्ला ।’
उनले नेपालको भविष्य विविधता भित्रको एकतामा भएकोले समावेशिता काम नगरिएसम्म र एकल जातीय प्रभुत्व कायम गर्ने मानसिकता कायम रहीरहेसम्म मुलुक समृद्धिमा जान नसक्ने भन्दै संविधान जारी हुने बेलामा सबैको अपनत्व ग्रहण गराउने अवसर हुँदा हुँदै पनि त्यो अवसरलाई गुमाएकोले अहिलेको अवस्था आएको दावी गरे ।
अध्यक्ष यादवले भने,‘ राष्ट्रपति, प्रधानमन्त्री बन्ने चाहनाले हतारमा संविधान जारी गरियो । अब यसलाई पुर्नलेखन नगरी समस्या समाधान हुँदैन त्यो नभई हामी मान्दैनौ । यो संविधान कार्यान्वयन हुनै सक्दैन, आफै बनाउने आफै संसोधन गर्ने अनि कसरी कार्यान्वयन हुन्छ ?’
उनले जनताले अधिकार मागेर आन्दोलन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुक तस्कर र कालाबजारीको हातमा सुम्पिएको आरोप लगाउँदै मुलुकको अर्थतन्त्र अहिले कालाबजारीले समानान्तर रुपमा अघि चलाएको बताए ।