उपेन्द्र यादवलाई गच्छदार प्रवृत्ति पछार्ने चुनौती

277
  •  
  •  
  •  

समाचार टिप्पणी । संविधान निर्माण र सत्ता साझेदारीको विषयले राजनीतिलाई नयाँ मोड दिएसँगै राजनीतिक समीकरणहरु पनि बदलिने संकेत देखिएका छन् । उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपाल मधेसी मोर्चाबाट अलग भएको छ । मूलतः कांग्रेस–एमालेसँग उपेन्द्रले अलग्गै डिल गर्ने रणनीति लिएका छन् । विजयकुमार गच्छदार र महन्थ ठाकुरको छायामा पर्ने भएपछि उपेन्द्रले यो बाटो समाएको बुझ्न गाह्रो छैन ।

मधेसका नेताहरुमा तुलनात्मक रुपमा बढी राजनीतिक चेत, बौद्धिक छवि, सामाजिक आधार, बाह्य दुनियाँसँगको सम्पर्क र जातीय प्रभुत्व पनि भएका उपेन्द्र किन एक्लिँदै छन् ? कुनै बेला मधेस राजनीतिका केन्द्र बनेका उपेन्द्रको आगामी राजनीति कुन दिशातिर उन्मुख हुँदै छ ? के उनको ठाउँ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार वा महन्थ ठाकुरले लिन सक्छन् ? आफ्नो बेग्लै अस्तित्व खोज्ने क्रममा उपेन्द्रले कतै वैध–अवैध वा अतिवादी समूहहरुको सहयोग लिने त होइनन् ? यी प्रश्न आज मधेस राजनीतिसँगै लय समाउँदै गरेको संविधान तथा संघीयता निर्माणको प्रक्रियासँग सम्बन्धित भएर आएका छन् ।

यी प्रश्नको उत्तर खोज्ने क्रममा सबभन्दा पहिला उपेन्द्र र विजय गच्छदारको राजनीतिक पृष्ठभूमि र प्रतिद्वन्द्विताको आधार हेर्नुपर्ने हुन्छ । यी प्रमुख दुई मधेसवादी दलका नेताहरू सुनसरी जिल्लाका छन् । उपेन्द्र यादवको घर सुनसरीको पश्चिम क्षेत्रमा पर्ने मधुवन गाविस हो । विजय गच्छदार भलुवा गाविस निवासी हुन् । यादवले जिल्लाको दक्षिणपश्चिम सघन बसोबास गर्ने यादव समुदायको प्रतिनिधित्व गर्छन् । गच्छदार जिल्लाको पुर्वी मध्यभागमा सघन बसोवास गर्ने थारु समुदायका प्रतिनिधि हुन् । यिनीहरु दुवै मध्यमवर्गीय किसान परिवारका सदस्य हुन्, जसमा गच्छदार खेती किसानी गर्ने परिवारका हुन् भने यादव पशुपालन गर्ने परिवारका ।

पछिल्लो समयमा दुवैले विराटनगरलाई पूर्वमा राजनीतिको अर्को मुकाम बनाएका छन् । उपेन्द्र यादवको विराटनगर–१८ मा घर छ । गच्छदार भने आफन्तकोमा बसेर विराटनगरको मोर्चा समाल्ने गर्दछन् । आज दुवैको वर्गआधार भने आनको तान फरक परिसकेको छ । यी दुवै नेताहरु अत्यन्तै महत्वकांक्षी छन् भन्नेमा उनीहरुकै व्यवहारबाट प्रस्ट भइसकेको छ । एकअर्काप्रतिको घात–प्रतिघात, मेल–बेमेल, संघर्ष–सम्झौताको सम्बन्धले पनि यही देखाउँछ ।

आफ्नो महत्वकाक्षांका लागि गच्छदार षड्यन्त्र र दलबदलुमा माहिर छन् । यादवले मधेसको दमित मानसिकतालाई उद्वेलित गरेका छन् । राजनीति शक्ति र स्वार्थको लडाइँ हो भन्ने जानेका अनि राजनीतिमा राष्ट्रिय पहिचान बनाएका यी नेताहरुको स्थानीय आधार भने आफ्नै समुदाय हो । गच्छदार स्थानीय थारु समुदायको बलमा स्थापित छन् भने यादव आफ्नै यादव भाइबन्धुहरुको आडमा । ०६४ सालसम्म उत्कर्षमा पुगेको उनीहरुको राजनीतिक यात्रा ०७० सालबाट ओरालो झर्न थालेको चुनावी परिणामले देखाउँछ ।

उपेन्द्रले मधेसको अध्ययन, लेखन र जागरणमा योगदान गरेका छन् । यादवको राजनीति बामपन्थी आन्दोलनबाट सुरु हुन्छ । ०४८ सालमा उनी एमालेबाट संसदीय निर्वाचनमा उमेद्वार थिए तर हारे । उनी एमाले सुनसरी जिल्ला कमिटीका सदस्य पनि थिए । ०४८ सालमा पराजय भोगेपश्चात् उनी एमालेमा निष्क्रिय भए । त्यसपछि यादव मधेस र मधेसीको समस्याहरुमाथि केन्द्रित भई लेख्ने, पढ्ने कामका लागे । यिनले मोरङमा बोर्डिङ स्कुल सञ्चालन गर्नेदेखि माओवादी आन्दोलनको नजिक रहेर पनि काम गरे ।

मधेस मुद्दालाई संगठित ढंगले उठाउन उनले मधेसी जनअधिकार फोरम नामको सामाजिक संस्था स्थापना गरे । संघसंस्था दर्ता ऐन, ०३४ अनुसार मोरङमा दर्ता भएको यो गैरसरकारी संस्थाको नाममा मधेसको कुरा गर्दागर्दै यादव राजनीतिक आन्दोलनको अगुवा वने । यो एक नियोजित प्रयत्न थियो, जसमा उनी सफल पनि भए । यादवको त्यो सफलतालाई पाडो किन्दा भैँसी उपहार भनेर सञ्चार क्षेत्रबाटै चर्चा भएको पाइन्छ ।

०६४ सालमा फोरमकै नेतृत्वको आन्दोलन उत्कर्षमा पुग्यो । उनी एकाएक मधेसका नायक बने । राजनीतिका माहिर खेलाडी गच्छदार र जेपी गुप्ताहरु समेत मधेसको आकर्षणमा यावदसँगै अंकमाल गर्न पुगे । तर, त्यही आगमन नै मधेसी जनअधिकार फोरमका लागि विभाजनको कारण बन्यो । सुरुवाती दिनमा फोरमलाई गच्छदार र गुप्ताले तीन भाग लगाए । अनि यादवका दुर्दिनहरु सुरु भए । विगतमा प्राप्त शान र हैसियत आज फोरमसँग छैन । र, यादव आफै पनि कमजोर देखिएका छन् । तर, अन्य मधेसवादी नेताहरुसँग तुलना गर्दा यादवमा राजनीतिक चरित्र देखिन्छ ।

नेविसंघको कार्यकर्ताबाट राजनीति सुरु गरेका गच्छदार आपराधिक र गुण्डागर्दी पृष्ठभूमिका कारण चर्चित छन् । ०३८ साल असोज ११ गते विराटनगर महेन्द्र मोरङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा गच्छदार स्ववियु सभापतिका उमेद्वार थिए । निर्वाचनमा अनेरास्ववियु र नेविसंघबीच सनातनी दुश्मनी थियो । त्यो निर्वाचनमा नेविसंघले धाँधली गरेको आरोपमा यी दुवै विद्यार्थी संगठनहरुबीच लामो विवाद भयो । विवादको उत्कर्ष ०३८ मंसिर ९ गते भयो । गच्छदारले हानेको गोली लागी अनेरास्ववियुका मोरङ जिल्ला कमिटी सचिव फणीन्द्रराज तिम्सिनाको मृत्यु भयो । यो हत्यासँगै केही समय गच्छदार जेल परे । यसरी उनको राजनीति अगाडि बढ्यो ।

गच्छदारलाई चलाख, हिम्मतिला तर विश्वास गर्न नसकिने नेताको रुपमा चर्चा गर्छन्, उनकै समकालीनहरु । कोइराला परिवार र गिरिजाप्रसाद कोइरालाको विश्वास प्राप्त गरेसँगै गच्छादारले ०४७ सालदेखि नै पछाडि फर्किनु परेको छैन । उनले पटकपटक लाभको पद प्राप्त गरेका छन् । उनलाई राजनीतिमा कमाउन सिपालु नेताको रुपमा समेत स्थानीयले चिनेका छन् । तर, न त विराटनगरमा घर बनाएका छन्, न काठमाडाँैमा । अख्तियार स्रोतका अनुसार, उनले चलाखीपूर्वक सम्पत्ति पनि आफ्ना नाममा खासै राखेका छैनन् ।

आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न गच्छादारले अनेकौँ घात, अन्तर्घात र पार्टी विभाजनको जोखिम लिएका छन् । यस्तो जोखिम मोलेकै कारण पटकपटक उनी शक्ति र लाभको पदमा पुगेका छन् । तर यसैको नकारात्मक परिणाम राजनीतिमा गच्छदारले रचनात्मक छवि बनाएका छैनन् । उनी बदनाम बढी छन् । गएको संविधानसभा निर्वाचनमा गच्छदारले मोरङबाट हार खानुपरेको छ । सुनसरीमा बालबाल बचेका छन् । तर, धेरै मान्छेहरु अब गच्छदारका दिन सकिएको ठान्छन् । यो गच्च्छदार प्रवृत्तिकै लागि शुभसंकेत होइन ।

मूलतः यी दुवै नेताहरुले जिल्लाको आफ्नो समुदायको जातीय मनोविज्ञानमा खेलेका छन् । उनीहरुको राजनीतिक आधार आआफ्नै जातीय समर्थन मात्र हो । यसको अर्थ यिनीहरु सिद्धान्त र संगठनको जगमा टिकेका नेता होइनन् । बरु बाहुबल, आफ्नो समुदायको अन्धसमर्थन, व्यक्तिगत सम्बन्ध र मधेसको भावनात्मक मनोविज्ञानलाई यिनीहरुले राजनीतिमा प्रयोग गरेका छन् । गच्छदारको आफ्नै नातागोता, सहयोगी र अन्धसमर्थकको निकै ठूलो आधार छ । उनको घरमा आउनेजानेको लावालस्कर लागी नै रहन्छ । उनी गाउँ आउँदा लाग्ने भोजभतेरले नै उनलाई सधैँ गाउसँग जोड्ने गरेको छ । त्यसो त जागिर, ठेकापट्टा, लाभको वितरण गर्न र आफ्ना मान्छेहरुलाई आफैमा थामीराख्न गच्छदार सिपालु छन् । तर, यो गुण यादवमा कम छ ।

गच्छदार बढी पदलोलुप नेता मानिन्छन् । पदका लागि उनी जे पनि गर्न तयार हुन्छन् । पद, पैसा र बाहुबलको यिनी भरमार प्रयोग गर्छन् । तर, उपेन्द्रमा अलिक चिन्तन गर्ने, तर्कहरुलाई संगठित गर्ने र सिद्धान्तको राजनीतिलाई प्रवद्र्धन गर्ने गुण छ । त्यसैले उपेन्द्रले बनाएको राजनीतिक आधारमा गच्छदारहरुले खेले र त्यसको पीडा यावदले झेले । आज दुवै कमजोर छन् । तर, उपेन्द्रका लागि राजनीतिमा विकल्पहरु अझै बाँकी छन् । तर, गच्छादारका दिन त्यति उज्याला नरहेको मधेस राजनीतिका विज्ञहरु बताउँछन् । गच्छदार स्वयंले पनि यो बुझेर नै जता मल्कु उतै ढल्कु स्वभावको ‘अन्तिम’ प्रयोग गरेको देखिन्छ ।

विचार र संगठनका दृष्टिबाट यी दुवै राष्ट्रिय नेता होइनन् । यिनीहरु क्षेत्रीय बन्ने आधार पनि भत्कँदै छ । आजका दिनमा यिनीहरुको सीमा निकै साँघुरो बनेको छ । तर, मधेसको मुक्ति, आर्थिक न्याय, समावेशीकरण र राष्ट्रियताका चिन्तनमा उपेन्द्र केही राजनीतिक देखिन्छन् । तर, गच्छदार न मधेसवादी हुन्, न लोकतान्त्रिक वा राष्ट्रवादी नै ।

गच्छदारका लागि मधेस एउटा राजनीतिक तुरुप मात्र हो । यसलाई समात्दा उनलाई फाइदा हुन्जेल समाइरहनेछन् । र, यसमा रमाउने नै छन् । भोलि उनका लागि अर्को फाइदा आउनेबित्तिकै अर्कैतिर ढल्कनेछन् । त्यसैले उपेन्द्रले मधेस राजनीतिको एजेन्डामा मोलमोलाइ गर्ने जिम्मा गच्छदारलाई छाडेर हिँड्नु उनकै लागि घातक हुनेछ । उनका लागि यो मात्र यस्तो मौका हो, जसले आफ्नो क्षमता, प्रतिभा र मधेस आन्दोलनको विरासतमा आफूलाई स्थापित गर्न भनिरहेको छ । अब उनी मर्केर हिँड्ने होइन, मूलधार त्याग्ने वा अवैध र अतिवादीहरुतिर दृष्टि लम्काउने होइन, कांग्रेस–एमालेसँग आफै अघि सरेर वार्तामा बस्नुपर्छ ।

वामपन्थी पृष्ठभूमिका कारण यादव अलिक सिद्धान्तमा प्रतिबद्ध मानिन्छन् । त्यसैले संविधान र संघीयताको अन्तिम छलफलमा हुने सौदाबाजिलाई राजनीतिक लेनेदनको मात्र विषय नबनाई उनले सैद्धान्तिक स्वरुप दिन सक्नेछन् । समग्र मधेस प्रदेशको खस्कँदो जनसमर्थन जगजागेर छ । त्यसलाई अडान बनाउनुको तुक उनले नै देख्न छाडिसकेका छन् । तर, तल्लो तहसम्मको शक्तिको निक्षेपीकरण र समावेशी विकासको सुनिश्चितताका पक्षमा उनले भूमिका खेल्न सक्छन् । उनको त्यो अडानले तराई मात्र होइन, पहाड पनि लाभान्वित हुनेछ ।


  •  
  •  
  •