संविधान संशोधन पनि पुनःलेखन हो : यादव

145
  •  
  •  
  •  

काठमाडौँ, ९ जेठ(ओएनएस) : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान पुनःलेखन र विगतमा गरिएको सम्झौता कार्यान्वयन गर्ने विषयमा ठोस राजनीतिक निर्णय नगरेसम्म वार्ता हुनै नसक्ने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पछिल्लो पटक वार्ता भंग गरेको आरोप लगाउँदै भने, ‘पुर्नलेखनसहितका विषयहरु गर्न सकिदैन भनेपछि के को लागि वार्ता गर्ने ? अहिले सरकारले देश र दुनियाँलाई झुक्याउन वार्ता गर्न खोजिरहेको छ ।’

उनले संविधानमा रहेको विभेदपूर्ण र त्रुटिपूर्ण प्रवाधानहरुलाई हटाएर अरु शब्द राख्ने विषय नै पुनःलेखन भएको स्पष्ट पार्दै यो राजनीतिक विषय भएकोले यसमा राजनीतिक निर्णय गर्न सके मात्रै समस्याको समाधान हुन सक्ने दावी गरे । उनले भने, ‘संविधान संसोधन पनि पुनःलेखन नै हो । संविधानमा रहेका विभेदकारी धारा हटाएर अर्कै लेख्ने काम हो ।’

यादवले वार्ता टोलीका संयोजक कमल थापाले पहिलाकै वार्तामा आफूले विषय टुङग्याउन नसक्ने शीर्ष तहमै वार्ता गर्नुपर्छ भनेर आत्मसमर्पण गरिसकेपछि फेरी उनलाई नै अघि सार्नु सरकारको वार्ता नगर्ने नियत भएको आरोप लगाउँदै गणतन्त्र लगायतका मामिलामा थापाको विचार नै गलत भएकोले उनीसँगको वार्ताबाट कहिल्यै पनि निष्कर्समा पुग्न नसकिने स्पष्ट पारे । उनले सरकारले वार्ताकोलागि आब्हान गरेपनि अहिलेसम्म संघीय गठबन्धनलाई वार्ताकोलागि कुनै पत्र नआएको स्पष्ट पारे ।

उनले वर्तमान संविधान जारी गर्ने तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले संविधान अपुरो छ भनिसकेको, संबैधानिक समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान पूर्ण नभएको, तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले हतार गरेर हामीले भुल गर्यौ भन्नु र एमाओवादी अध्यक्ष प्रचण्डले अहिले पो मैले यो संविधानमा त्रुटी नै त्रुटी छ भनेर थाहाँ पाएको भनि अभिब्यक्ति दिनु त्यसैगरी विदेशी विद्धानहरुले पनि संविधान गलत रुपमा लेखिएको, विभेदकारी रहेको, एकल जातीय अहंकारलाई मुर्त रुप दिने भएकोले नश्लवादी र असमावेशी भनेर भनिसकेपछि यसले सबै समूदाय र क्षेत्रको भावनालाई संबोधन गर्न नसक्ने स्पष्ट भईसकेको दावी गर्दै संविधान कसैलाई प्रधानमन्त्री, राष्ट्रपति र कसैलाई सरकारमा जान भएको हतारमा गलत तरिकाले संविधान लेखिएकोले यसको पुर्नलेखनको विकल्प नभएको दावी गरे ।

यादवले अहिले पनि सरकारले आन्दोलनलाई दवाएर जाने सोचे र उखान तुक्का मात्रै गरिरहे आन्दोलन अर्कै रूपमा जाने चेतावनी दिदै भने, ‘नश्लवादी चिन्तनले जर्मनलाई दुई वटा बनायो, भारतलाई तीन टुक्रा बनायो । केपी शर्मा ओली एण्ड कम्पनीले नसोचे नचिताएको कुरा हुन्छ ।’

उनले जनताले नै संविधान नस्विकारेपछि कुन निकायले संविधान बनायो भन्ने कुराको अर्थ नहुने दावी गर्दै सरकारले अहिले नै नसोचे आन्दोलनले उग्र रुप लिदै जनआन्दोलन मार्फत अहिलेको संविधान नै बर्खास्त हुने चेतावनी दिए ।


  •  
  •  
  •