दलहरूबीचको सहमति, राहतको डलर पचाउने मेलो : यादव

163
  •  
  •  
  •  

upendra yadavभक्तपुर, ८ असार(ओएनएस) : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राहतको रकम दुरूपयोग गर्नै कै लागि १६ बुँदे सहमति गरेको बताएका छन् ।

रफत संचार क्लबमा आयोजित साक्षत्कार कार्यक्रममा यादवले राष्ट्रिय सरकारको कुरा भूकम्प पीडितका लागि आउने डलर हात पार्ने माध्यममात्र भएको आरोप लगाएका छन् ।

भूकम्प पीडितको नाममा आएको राहत दुरूपयोग हुन थालेको भन्दै छानविनको लागि न्यायिक कमिटी गठन गर्नु पर्ने उनले माग गरेका छन् । उनले दातृ निकायले भूकम्प पीडितका नाममा पठाएको अरबौँको रकम हिनामिनाको पूर्ण रुपमा छानविन नहुने हो भने कसैले सरकालाई विश्वास नगर्ने बताए ।

उनले मन्त्री र सरकारमै भएकाहरुले राहतमा गरेको घोटला र भौतिक संरचना निमार्णमा भन्दा पनि रकम माग्ने प्रवृति बढेकाले विश्व समुदायले विश्वास गर्न नसकेको धारणा राखेका छन् ।

उनले यो विपतको समयको लाभ लिँदै प्रमुख दलहरुले प्रतिगामी संविधान जारी गर्न लागेको आरोप लगाए । संविधान जारीका विषयमा कोही बाधक नभएको तर, मधेश आन्दोलनका समयमा गरिएका सहमतिलाई लत्याउँदै संविधान जारी गरिए त्यस्तो संविधान जारी भएकै भोलिपल्ट जल्ने उनको भनाई थियो । संविधान जारीका विषयमा आफूहरुलाई वेवास्ता गरे विरोधका लागि संविधानसभा हुँदै सडकमा समेत उत्रन बाध्य हुने उनले चेतावनी दिए ।

पछिल्लो समयमा चार दलले न्यायपालिकाले जारी गरेको आदेशको उपहास गर्दै लोकतन्त्रको खिल्ली उडाएको बताए । उनले भने, ‘ठूला दलका नेताहरुले आफ्नो पायकमा पर्ने भए जस्तो पनि काम गर्न सक्ने र सरकारको साँचो हात पार्न जे पनि गर्न सक्छन् ।’

सुशिल कोईरालाले संविधान जारी नभएसम्म सरकार नछाड्ने अवस्था आएपछि जसोतसो झारा टार्न संविधान जारी गर्दै सरकारको ढोका खोल्न लागेको यादवको टिप्पणी थियो ।

लिपुलेकका बारे जसरी राजनीतिक दलहरुले विभिन्न भनाईहरु बाहिर ल्याएका छन् यसले छिमेकीहरुसँगको सम्बन्ध बिग्रन सक्ने भन्दै सरकारले लिपुलेक कसको हो भन्ने स्पष्ट धारणा राख्नु पर्ने बताए । उनले भने, ‘सरकार र कुटनीतिक पक्षको कमजोरी देखिएकाले तत्काल लिपूलेक बारे नेपालीलाई जानकारी दिनु पर्छ ।’


  •  
  •  
  •