उपेन्द्र यादव भन्छन्: पूर्वराजासँग काँग्रेस–एमालेको साँठगाँठ थियो

205
  •  
  •  
  •  

upendra-yadav_20110506084356काठमाडौं, ८ फाल्गुन (ओएनएस) : मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस–एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेको आरोप लगाएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजासँग काँग्रेस–एमालेको गोप्य सहमति भएकाले त्यसको भण्डाफोर हुनुपर्ने बताए ।

‘काँग्रेस र एमालेले ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेका छन्,’ यादवले भने, ‘पूर्वराजासँग विगतमा के सहमति भएको हो त्यसको खुलासा हुनुपर्छ ।’ गणतन्त्र स्थापना पूर्व बेबि किङ, सेरेमोनियल किङको विषय काँग्रेस र एमालेले उठाउने गरेकाले गोप्य सहमति भएको बुझ्न सकिने बताए ।

पहिलो संविधानसभाको बैठकबाट गणतन्त्र घोषणा गर्ने सवालमा काँग्रेस र एमालेले आनाकानी गरेकाले विगतमा भएको साँठगाँठ पुष्टि हुने दाबी गरे । कम्युनिष्ट पार्टीको महासचिव भएर माधवकुमार नेपालले प्रधानमन्त्रीका लागि दरबारमा निवेदन दिने देखि दाम चढाउने सम्म गरेबाट साँठगाँठ प्रष्ट भएको बताए । उनले भने,‘ के सहमति गरेका थिए भन्ने ज्ञानेन्द्र शाहले खुलासा गर्नुपर्छ ।’

सत्ताका लागि काँग्रेस र एमालेले जेसुकै गतिविधि गर्ने गरेको आरोप लगाउँदै विगतमा अपनाएको हथकण्डा पर्दाफास हुने भयले आत्तिएको बताए । इतिहासको वास्तविक घटनालाई कसैले लुकाएर नलुक्ने भन्दै जनताले काँग्रेस र एमालेको वास्तविक चरित्र थाहा पाउन धेरै समय नलाग्ने बताए ।

प्रजातन्त्र दिवसको अघिल्लो दिनपूर्व राजा ज्ञानेन्द्र शाहले विज्ञप्तिमार्फत् आफूसँग भएको सहमति कार्यान्वयन गर्न दलहरुलाई आग्रह गरेपछि टिका टिप्पणी भइरहँदा यादवको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

अर्काे प्रसंगमा यादवले सहमतिबाट संविधान जारी हुनुको विकल्प नभएको बताए । बहुमतको दम्भदेखाएर अगाडि बढ्न खोजे कडा आन्दोलनको सामना गर्न तयार हुन भने । उनले भने, ‘अहिलेसम्म सहमतिको बटम लाइन प्रष्ट पारेका छौं, बहुमतको दम्भ देखाउँछन् भने आन्दोलनले देशको भविष्य तय गर्नेछ ।’

उनले काँग्रेस–एमालेका शीर्ष नेताहरुले नै सार्वजनिक रुपमा विगतमा भएका सहमति, सम्झौता मान्दैनौं बरु बहुमतबाटै संविधानजारी गर्छौ भने भाषणवाजी गर्दा दलहरुकाबीचमा विश्वासको वातावरण नबनेको स्पष्ट पारे ।


  •  
  •  
  •