भक्तपुर, १४ माघ(ओएनएस) : मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले मोर्चालाई पेल्दै संविधान जारीमा अग्रसर भए देश गृहयुद्धमा जाने बताएका छन् ।
रफत सञ्चार क्लव भक्तपुरको आयोजनमा बुधबार भएको अन्र्तसंवादमा यादवले विगतका सहमतिलाई भुल्दै संख्याका आधारमा संविधान जारी गर्न खोजिए त्यो देशका लागि दुर्भाग्य हुने बताएका छन् । उनले सरकार सञ्चालनमा बहुमत र अल्पमतको विषय आउने भएता पनि संविधान निमार्णमा प्रमुख दललाई सहमतिमा नल्याई पेलेरै जान्छु भन्नेहरु पतन हुने दावी गरेका छन् ।
काँग्रेस र एमालेले पेलेरै जाने नीति लिएता पनि विश्व समुदायले भने मिलेर जान दिएको निर्देशनको अवज्ञा सरकारले गर्न नसक्ने समेत उनको टिप्पणी थियो । यादवले संविधानसभाको अध्यक्षले जसरी खेलाडीले गोल गर्नु पर्नेमा आफै रेफ्री बनेर गोल गर्ने प्रयास गर्दा त्यसले अन्तरिम संविधानका नियमावलीको समेत उल्लघंन भएको र पार्टीको कार्यकर्ताको भूमिका खेलको आरोप लगाएका छन् ।
उनले भने, ‘सत्ताको मात र जिम्मेवार पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वार्ताका समयमा जसरी तराईको विषयमा खिल्ली उडाउँदै भारतका विभिन्न भागलाई पनि समेट्नु पर्ने बोले त्यसले समेत सहमतिमा अवरोध पुगेको छ ।’
वर्तमान सरकार भ्रष्टहरुको चंगुलमा फसेको र चुनावका समयमा खर्च भएको रकम असुलीमा लागेकाले समेत नेपालीजनले विभिन्न खालका समस्या भोग्नु परेको दावी उनले गरे ।
सरकारका प्रधानमन्त्रीले भ्रष्टाचार भएको स्विकारे पनि कारवाही गर्न नसक्नुले समेत कालाबजारीयाहरुको पैंसो चुनावको समयमा खर्च भएको स्पष्ट देखिएको यादवको दावी थियो । उनले भने, ‘इन्धन अभावको परिणामले सबै प्रष्टाई दिएको छ ।’