आयोगको तटस्थता र निष्पक्षता माथि नै गम्भीर शंका उत्पन्न भएकाे छ : उपेन्द्र यादव

101
  •  
  •  
  •  

फाइल तस्बिर

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको निष्कर्ष निकालेका छन् । मंगलबार विज्ञप्‍ति जारी गर्दै अध्यक्ष यादवले आयोगको भूमिकामाथि प्रश्न उठाएका हुन् ।

ठाकुरलगायतलाई कारबाही गरिएकोबारे जानकारीसहित पार्टीको दल दर्ता किताबमा अद्यावधिक गर्न पठाइएकोमा त्यसलाई निर्वाचन आयोगको जेठ ३० को बैठकले अस्वीकार गरेकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्‍तिमा उल्‍लेख छ ।

आयोगको निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको यादवले बताएका छन् ।

उनले आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने बताएका छन् ।  ‘निर्वाचन आयोगको उक्त निर्णयले राजनीतिक दल सम्बन्धी ऐन, २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४ र जसपा, नेपालको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधा अनुरुप बंग्याई अपव्याख्या गरी पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवम् अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रुपले वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘जुन कार्य विधि सम्मत देखिँदैन । निर्वाचन आयोग जस्तो संवैधानिक निकाय पूर्वाग्रहरहीत भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हित अनुरुप निर्वाचन आयोगले गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षता माथि नै गम्भीर शंका उत्पन्न भएको छ ।’


  •  
  •  
  •