हडताल फिर्ताकाे निर्णय प्रति उपेन्द्रकाे आपत्ति

144
  •  
  •  
  •  

काठमाडौं २५ चैत ।
सर्वत्र विरोध भएपछि एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले बुधबार र बिहीबारका लागि निर्धारित आमहडताल फिर्ता लिएको छ । मंगलबारको बन्दविरुद्घ विभिन्न पेसा, क्षेत्र र सर्वसाधारणले आक्रोश पोखेपछि मोर्चाले आन्दोलनका कार्यक्रम संशोधन गरेको हो ।

मोर्चामा संलग्न फोरम नेपालले भने आमहडताल फिर्ता लिने निर्णयप्रति आपत्ति जनाएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गरी मोर्चाको निर्णयमा आफ्नो पार्टीको सहमति नरहेको बताएका छन् । बन्द फिर्ताले आन्दोलनमाथि धोका भएको उनको टिप्पणी छ । उनी मोर्चा बैठकमा पनि गएनन् ।

बन्दबारे समीक्षा गर्न साँझ सिंहदरबारमा बसेको मोर्चाको बैठकले आमहडताल फिर्ता लिएर फागुन ३० सम्म सहमतिको पहल गर्ने निर्णय गरेको छ । सभाध्यक्ष सुवास नेम्वाङले राजनीतिक दलहरूबीच संविधानका विषयमा सहमतिको वातावरण बनोस् भनेरै संविधानसभाको बैठक ३० गतेसम्म स्थगन गरेका छन् ।

यसबीचमा सहमतिका लागि वातावरण बन्ने ठानेर पनि बन्द फिर्ता लिएको नेताहरूले जनाएका छन् ।

उद्योगी, व्यापारी, यातायात व्यवसायीलगायतको सुझावलाई ध्यानमा राख्दै बुधबार र बिहीबारको बन्द फिर्ता लिएको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले कान्तिपुरसँग भने । बन्द नगर्न आग्रह गर्दै मंगलबार उद्योगी व्यवसायीहरूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए । बन्दले मुलुकको अर्थतन्त्रमा व्यापक असर हुने उल्लेख गर्दै फिर्ता लिन सुझाव दिएपछि दाहालले मोर्चाको बैठकबाट पहल गर्ने आश्वासन दिएका थिए । बैठकमा बन्दले मात्र सरकार नगल्ने, सर्वसाधारणले दुःख मात्र पाउने अवस्था आएको भन्दै आन्दोलनको स्वरूप बदल्नुपर्ने धारणा नेताहरूबाट आएको

थियो । ‘जति बन्द गर्दा पनि सरकारले हाम्रो कुरा नसुन्ने भयो, जनताले मात्र दुःख पाउने अवस्था आयो त्यसैले आन्दोलनको स्वरूप बदल्न लागेका छौं,’ बैठकपछि एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले भने । उनले अब जनतालाई सजिलो हुने र सरकारमाथि दबाब पर्नेखालको आन्दोलनको स्वरूप तयार गर्ने बताए ।

मोर्चाले २७ गतेको बैठकबाट भावी आन्दोलनको स्वरूपबारे छलफल गर्नेर्छ । मोर्चाले रौतहटको गौरमा विरोधसभा गर्ने भएको छ । कहिले गर्ने भन्ने मिति निर्धारण भइसकेको छैन । मोर्चा बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादीका अध्यक्ष अशोक राईलगायतले आमहडताल फिर्ता गर्न नहुने भनाइ राखेका थिए । ‘आन्दोलनमा त भिड्ने हो भाग्ने होइन, यस्तो तरिकाले आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन सकिँदैन,’ सद्भावना अध्यक्ष महतोले भने, ‘हामी आफैं कसरी अघि बढ्ने हो त्यसको समीक्षा गरेर अघि बढ्नुपर्ने अवस्था आएको छ ।’ महतोले बन्द फिर्ताको निर्णयबारे भने आफ्नो कुनै प्रतिक्रिया नरहेको बताए । ‘मोर्चाको निर्णय आफ्नो ठाउँमा होला तर अब हामी मधेसी दलहरूकै बीचमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्नुपर्ने भएको छ,’ महतोले भने ।
कान्तिपुरबाट


  •  
  •  
  •