बोक्सी भन्दै कुटपिटबाट घाइते भएकी चौधरीको उपचार खर्च सरकारले बेहोर्ने, पीडकमाथि सार्वजनिक मुद्दा

310
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन (ओएनएस) : बोक्सीको भन्दै कुटपिटबाट घाइते भएकी कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलीकी १८ वर्षीया राधा चौधरीको उपचार खर्च सरकारले बेर्होने भएको छ ।

घाइते राधाको अस्पताल पुगेर स्वास्थ्य अवस्था बारे प्रदेश नम्बर ७ का भूमि तथा कृषि मन्त्री विनिता चौधरीले जानकारी लिएपछि उनको उपचार खर्च सरकारले बेहोर्ने बताएकी छिन्। मन्त्री चौधरीले घटनाका दोषिलाई कारबाहीको दायरामा ल्याउनेसमेत बताइन ।

यसैबीच आज बस्न लागेको प्रदेशसभाको बैठकमा पनि सांसदहरुले घटनाका बारेमा कुरा उठाइ दोषिलाई कडा भन्दा कडा कारवाहीको लागि प्रहरीलाई निर्देशन दिने बताइएको छ।

बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरिएको थियो । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । पेट, छाती, टाउको, खुट्टा, घाँटी, नाक, कानलगायत शरीरका अन्य भागमा चोट छन् ।

भोलेबाबा भनिने रामबहादुर चौधरीले बोक्सी भगाउने भन्दै उनीमाथि निर्मम कुटपिट गरेका हुन् । आफूलाई भोलेबाबा बताउने २५ वर्षीय रामबहादुरले बोक्सी भगाउने भन्दै कुटपिट गरिरहँदा भेला भएका सयौं स्थानीयमध्ये कसैले पनि नरोकेको पीडितका बुवा जोखन चौधरीले दुखेसो पोखे ।

बोक्सी आरोपमा कुटपिट गर्ने रामबहादुरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनीमाथि सार्वजनिक अपराधको मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


  •  
  •  
  •