उपभोक्तासँग खेलवाड गर्ने व्यवसायीलाई कडा कारबाही गरिनुपर्छ : मुख्यमन्त्री राउत

396
  •  
  •  
  •  

जनकपुरधाम, ३ वैशाख(ओएनएस) : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले व्यवसायीले पैसा कमाउने नियतले खाद्यवस्तु तथा माछामासुमा विभिन्न केमिकलहरु मिसाएर मानव शरीरलाई निकै हानी पु¥याउने काम भइरहेको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय कार्यशालाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले उपभोक्तासँग खेलवाड गर्ने व्यवसायीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने बताए ।

उनले भने, ‘त्यस्ता चिजहरु किन्ने बेलामा निकै नै आकर्षक खालका भएपनि मानिसलाई विभिन्न रोगले च्याप्दै जाने र पछि गएर ज्यान नै लिने गरेकाले त्यस्तालाई गलत क्रियाकलाप गर्ने व्यवसायीलाई कडा भन्दा कडा कारबाही गरिनुपर्छ ।’
उपभोक्ता हकहित संरक्षणका लागि कडा कानूनहरु बनेपनि कार्यान्वयन पक्ष भने फितलो रहेको उनको भनाइ छ ।

उनले बजारमा माछा, मासु, तथा मिठाइहरुमा व्यवसायीहरुले उपभोक्तालाई ताजा देखाउने नाममा गलत केमिकलहरुको प्रयोग गरेर अधिकांश सर्वसाधारणमा किड्नी रोग, डाईविटिज, ग्यास्टिक, पत्थरी, हृदयघात, दम जस्ता रोग देखापरेको भन्दै उपभोक्ताको हकहित संरक्षणसँगै गलत क्रियाकलाप गर्ने व्यवसायीलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।

जनकपुर लगायत विभिन्न ठाउँमा गुठीको जग्गा हडप्न अनेकन चलखेल भइरहेको भन्दै यसलाई व्यवस्थित गर्नका लागि सार्वजनिक तथा गुठीको जग्गा व्यवस्थापन सम्बन्धी विधेयक ल्याउने तयारी भईरहेको उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले गुणस्तरीय खाद्य सामग्रीका लागि गुणस्तरीय सेवा पनि त्यतिकै आवश्यक रहेको बताइन् ।

दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललगायतको सहभागिता थियो ।


  •  
  •  
  •