को बन्ला सभामुख ?

पहिलो हकदार उपसभामुख नै
225
  •  
  •  
  •  

काठमाडौं । अहिले सभामुख पद रिक्त छ । पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि संसद् सचिवालयमा कार्यरत एक कर्मचारीलाई बलात्कार प्रयासको गम्भिर आरोप लागेसँगै राजीनामा दिइ सकेका छन् ।

सभामुख नहुँदा उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले आफ्नो अधिकार प्रयोग गरेर काम गरिरहेकी छन् ।

सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्नेछ भनेर संविधानको धारा ९१ को उपधारा ४ मा व्यवस्था गरिएको छ । जसअन्तर्गत उपसभामुखले गर्नुपर्ने काम के के गर्न मिल्छ के के गर्न मिल्दैन स्पष्ट रूपमा सबै कहीँ पनि उल्लेख गरिएको छैन ।

उपसभामुखलाई नै सभामुख बनाउनुपर्ने पक्षमा महिला नेतृ

महिला नेतृहरु उपसभामुख तुम्बाहाम्फेलाई नै सभामुख बनाउनुपर्ने पक्षमा देखिएका छन् । सभामुख पद रिक्त हुँदा संघीय संसद्को चौथो अधिवेशनबाट पारित भएका पाँचवटा विधेयक प्रमाणीकरण हुन सकेको छैन् ।

सभामुखले प्रमाणीकरण गरेपछि मात्र विधेयक राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक प्रावधान छ  । यता उपसभामुख डा. तुम्बाहम्फेले भने सभामुख पद आफूले पाउनुपर्ने दाबी गर्दै आएकी छन् ।

‘योग्यता, क्षमता, अनुभवका आधारमा उपसभामुख भइरहेको व्यक्ति सभामुखको लागि दाबी गर्ने पहिलो व्यक्ति हुनेमा कुनै शंका छैन ।’ 

नेकपाकी सांसद डा.विन्दा पाण्डे सभामुखको पहिलो हकदार उपसभामुख नै भएको बताउँछिन् ।  उनी भन्छिन्, ‘संसद ह्यान्डल गर्ने कुरा हो । त्यसमा योग्यता, क्षमता, अनुभावमा भर पर्छ । अहिले ज–जसको चर्चा चलेको छ । त्यसलाई एउटा टेवल बनाएर राखौं । योग्यता, क्षमता अनुभवमा क कसको के के छ । त्यसै अनुसार निर्णय गरौँ भन्ने हो । अर्को उपले प्रमुख नभएको बेलामा प्रमुखको काम पनि गर्ने भन्ने हुन्छ ।’ जुन उहाँले गरिराख्नुभएको पनि हामीले देख्दै आएका छौ ।

पाण्डे भन्छिन ‘योग्यता, क्षमता, अनुभवका आधारमा उपसभामुख भइरहेको व्यक्ति सभामुखको लागि दाबी गर्ने पहिलो व्यक्ति हुनेमा कुनै शंका छैन ।’

उनका अनुसार, ‘चर्चा भएका व्यक्ति मध्ये कुन कारणले अहिलेको उपसभामुख सभामुख हुन कमजोर मानिन्छिन । जसका उहाँ सभामुख हुन हुँदैन भनेर देखाउनुपर्यो ।

हिजोको अभ्यासलाई हेर्दा पनि सभामुख नभएको बेलामा उपसभामुखलाई नै सभामुख बनाइएको अवस्था थियो । अहिलेको अवस्थामा शिवमायालाई न्याय गर्ने कि नगर्ने भन्ने नेकपाको कुरा हो ।’

नेकपाकै अर्की सांसद पवित्रा निरौला उपसभामुख शिवमायाले सभामुखको भूमिका निर्वाह गर्न सक्ने बताउँछिन् ।
उनी भन्छिन्, ‘अहिले उपसभामुख भइरहनुभएको माननिय ज्यू हुनुहुन्छ । उहाँ सभामुखको भूमिका निर्वाह गर्न नसक्ने व्यक्ति होइन् ।’

उनी भन्छिन्, ‘तर दलिय बाडफाडका आधारमा निर्णय गर्ने भएकाले कसको पक्षमा पार्टिले निर्णय गरेर अघि बढ्छ भन्ने कुरा मुख्य हो । पार्टीको परिधिभित्र, पार्टीको अनुशासनमा बन्नुर्ने भएको कारण अन्तिम निर्णय गर्ने पार्टीले नै हो । पार्टीले गरेको निर्णयलाई हामीले मान्नुपर्ने हुन्छ । तर अहिलेको सन्दर्भमा हामीले एक जना महिलालाई सभामुखको जिम्मेवारी दिएर जाँदा उपयुक्त हुन्छ भन्ने कुरा बारम्बार उठाइ राखेका छौं ।’

सांसद निरुदेवी पाल महिला भएका कारण नभइ सभामुख हुन योग्य मान्छे भएका कारण डा. तुम्बाहाम्फे सभामुख हुन लायक व्यक्ति भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘औपचारिक शिक्षामा विद्यावारिधी (पीएचडी) हाँसिल गरेको । कानूनको विद्यार्थी । करिब ४० वर्ष राजनीति गरेको । राज्यसत्ता परिवर्तनका लागि भएका हरेक आन्दोलन र महिला आन्दोलनको सशक्त योद्धा । शालिन व्यक्तित्व । यो भन्दा योग्य अनि सक्षम व्यक्ति अरु को हुन सक्ला ?’

यो पनि हेर्नुहोस्

‘उपसभामुख मैले रोजेको पद होइन’ : उपसभामुख तुम्बाहाम्फे

‘राजनीति गर्न पाउने सर्तमा बिहे गरेँ’ : उपसभामुख तुम्बाहाम्फे

अर्की सांसद निरा जैरु विगतमा समावेशिताको मुद्दालाई उठाएको नेकपालाई सभामुखमा डा. तुम्बाहाम्फेलाई नै पठाउने र उपसभामुख पनि महिला नै बनाएर नेपाली राजनीति र अन्तर्रा्ष्ट्रियस्तरमा उदाहरण बन्ने सुनौलो अवसर आएको बताउँछिन् ।

उनी भन्छिन्, ‘संविधानले त सभामुख र उपसभामुख मध्ये एक जना महिला भनेको पो हो त । महिलाचाहिँ उपसभामुख मात्रै हुनुपर्छ भन्ने त होइन नि । त्यसैले यी दुबै पद महिलालाई नै दिँदा के फरक पर्छ ? ’

पुस पहिलो साता हिउँदे अधिवेशन

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस पहिलो साता हिउँदे अधिवेशन बोलाइ सकेकी छन् । गएको सोमबार साँझ बसेको मन्त्रिरिषद्को निर्णयपछि राष्ट्रपति भण्डारीले हिउँदे अवधिवेशन बोलाएकी हुन् ।

हिउँदे अधिवेशन बोलाइएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नयाँ सभामुख चयनबारे छलफल अगाडि बढाइसकेको छ । एउटै दलको सभामुख र उपसभामुख हुन नदिने वैधानिक प्रावधानका कारण नेकपाले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने गृहकार्यमा नेकपाले केही समय अघिदेखि नै लागि परेको छ ।

उपसभामुख तुम्बाहाङ्फे राजीनामा गर्न राजी नभएकाले नेकपामा समस्या देखिएको छ । हिउँदे अधिवेशन अगाडि नै उपसभामुखलाई राजीनामा गराएर सभामुख चयन प्रक्रिया अघि बढ्नेछ ।

 


  •  
  •  
  •