उपसभामुखमा दुई जनाकाे उम्मेदवारी, भाेली निर्वाचन

506
  •  
  •  
  •  

काठमाडौं, १ चैत (ओएनएस): प्रतिनिधिसभाको उपसभामुखमा नेकपा एमालेबाट सांसद बनेकी डा. शिवमाया तुम्बाहाम्फे र कांग्रेसबाट सांसद बनेकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन्।
कांग्रेसको बिहीबार बसेको पदाधिकारीको बैठकको निर्णय अनुसार भुसालले उपसभामुखमा उम्मेदवारी दर्ता गरिसकेकी छन्। उनले संघीय संसद सचिवालयमा पुगेर बिहीबार उम्मेदवारी दर्ता गरेकी हुन्।
यसअघि कांग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन। यही चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि कांग्रेस पदाधिकारी बैठकले बिहीबार भुसाललाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो।
प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत निर्वाचित थिइन्। संघीय संसद् सचिवालयले भोलि चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए।
उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको थियाे।
संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।
प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो। त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान छ।

  •  
  •  
  •