उपनिर्वाचनः नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी

55
  •  
  •  
  •  

काठमाडौं । उपचुनावकोे सम्पूर्ण नतिजा सार्वजनिक भैसकेको छ । सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा निर्वाचित भएका छन् ।

नेकपाले प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष ३ र विभिन्न पालिकाका २४ वडाका अध्यक्ष पद जितेको छ । त्यस्तै कांग्रेसले प्रदेश सभा सदस्य १, उपहानगरपालिकाको मेयर १ र विभिन्न पालिकाका ११ वडाध्यक्षमा जितेको छ ।

प्रतिनिधिसभातर्फ उपचुनाव भएको एक मात्र कास्की २ मा नेकपाले जितेको छ ।
यसअघि रवीन्द्र अधिकारीले जितेको यो ठाउँमा यसपटक विद्या भट्टराई निर्वाचित भएकी छन् । उनले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई पराजित गरेकी हुन् ।

त्यस्तै प्रदेश सभाअन्तर्गत भक्तपुर १ (क) मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार कृष्ण भँडेलले नेकपाका उम्मेदवार देवीप्रसाद ढकाललाई पराजित गरेका छन् ।

त्यस्तै प्रदेश सभातर्फ भने दाङमा नेकपाले र बागलुङ २ ‘ख’मा राष्ट्रिय जनमोर्चाले जितेको छ ।  दाङ क्षेत्र नम्बर ३ (ख) मा नेकपाका उम्मेदवार विमलाकुमारी ओली विजयी भएकी हुन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै उनी प्रदेश सभा सदस्यमा विजयी भइन् ।
बागलुङ २ ‘ख’ मा नेकपाको समर्थनमा जनमोर्चाका उम्मेदवार खिमविक्रम शाही विजयी भएका छन् ।

त्यस्तै धरान उपहानगरपालिकामा कांग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।
उनले नेकपाका उम्मेदवार प्रकाश राईलाई गराएका हुन् ।

पाँचथरको फाल्गुनन्द र राजपाले जितेको महोत्तरीको पिपरामा नेकपा विजयी भएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिकामा नेकपा विजयी भएको छ ।
उपचुनाव भएको ४३ वडामध्ये कांग्रेस र नेकपाबीच केही स्थानमा साटफेर भएको छ । यसअघि कांग्रेसले जितेका ७ वडामा नेकपा र यसअघि नेकपाले जितेका ६ वडामा कांग्रेस विजयी भएको छ ।

 

 


  •  
  •  
  •