उपाध्यक्षको नाममा नक्कली परीक्षार्थी, उपाध्यक्ष फरार

311
  •  
  •  
  •  

जुम्ला,१७ चैत्र – हिमा गाउँपालिका जुम्लाकी उपाध्यक्ष हिमाली रोकायाको एसईई परीक्षा दिँदै गरेकी एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । राहदेव मावि मोफ्लामा उपाध्यक्ष रोकायाको परीक्षा दिँदै गरेकी विमला रोकायालाई प्रहरीले पक्राउ हो ।

नक्कली परीक्षार्थी विमलाले लिएको प्रवेशपत्रको फोटोमा केरमेट गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट गएको प्रहरी नायव उपरीक्षक डा। तपनकुमार दाहालको टोलीले उनलाई पक्राउ गरेको हो ।

‘जिल्ला शिक्षा कार्यालय जुम्लामा पेस गरिएको कागजात र परीक्षा हलमा लिइएको प्रवेशपत्र तुलना गर्दा विवरण मिलेको थिएन’, उनले भने, ‘स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा दिँदै गर्दा उपाध्यक्ष रोकायाले राखेकी नक्कली परीक्षार्थी विमला पक्राउ परेकी हुन् ।’

राहदेव मावि मोफ्ला केन्द्रमा दुई सय २० जना परीक्षार्थी छन् । उपाध्यक्षको सट्टापरीक्षा दिने नक्कली परीक्षार्थी विमलालाई दस्तखत किर्ते मुद्दा लगाइने र सट्टामा परीक्षा दिन लगाउने उपाध्यक्ष रोकायालाई पनि कारबाही गरिने प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए । तर अहिले उपाध्यक्ष रोकाया फरार रहेको प्रहरीको भनाइ छ । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।


  •  
  •  
  •