वर्षौ पहिले मृत्यु भएकी महिलाले जितिन् चुनाव

417
  •  
  •  
  •  

voteकाठमाडौँ, २४ पुस(एजेन्सी) : भारतको उत्तर प्रदेशको बरेलीमा भएको प्रखण्ड विकास समितिको चुनावमा वर्षौ पहिले मृत्यु भएकी एक महिलाले चुनाव जितेकी छिन् ।

प्रहरीले यस विषयमा थाहा पाएपछि एक मुद्धा दर्ता गरेको छ । जाँचका क्रममा ती मृत महिलाका पतिले उनको नाममा आफ्नी अर्की पत्नीलाई चुनावमा उठाएका थिए । उक्त सिट महिलाहरूका लागि आरक्षित रहेको थियो । आरोपीको नाम इकराम खान हो । उनले आफ्नी मृत पत्नी परवीन बेगमको नाममा आफ्नी नयाँ पत्नीलाई चुनावमा उतारेका थिए ।

परवीन बेगम इकरामकी पहिली पत्नी थिइन् । इकराम बीठरी चैनपुर प्रखण्डको सारीपुर गाउँमा बस्दै आएका छन् । उनले आफ्नी दोस्री पत्नीलाई परवीन बेगमको नामबाट बीडीसी चुनावमा उम्मेदवार बनाए ।

एक मतदाताले यस विषयमा प्रहरीमा उजुरी गरेका थिए । ती मतदाताले उजुरी गर्दै बीठरी चैनपुर प्रखण्डको वार्ड नम्बर १६ बाट हालै बीडीसी चुनाव जित्ने महिला परवीन बेगम वास्तवमा केही वर्ष अगाडि नै मरेको उल्लेख गरेका थिए । उनले आफ्नो पहिलो पत्नी परवीनको मृत्युपछिु इकरामले दोस्रो विवाह गरेको र तीनै दोस्रो पत्नी गुड्डीलाई उम्मेदवार बनाएको आरोप लगाएका थिए ।

उनले परवीनको मृत्युपछि इकरामले आफ्नो दोस्रो पत्नीलाई परवीन बेगमको नाममा चुनावी पर्चा भर्न भनेका थिए । यसका लागि दुवै पति-पत्नीले नक्कली कागजात पनि जम्मा गरेको आरोप लगाएका छन् ।

यति हुँदासम्म पनि कसैले चाल पाएनन् र वार्ड नम्बर १६ बाट उम्मेदवारी दिएका १४ उम्मेदवार मध्ये परवीनले सबैभन्दा बढी भोट ल्याएर चुनाव जितिन् ।

अब प्रहरीले इकराम र गुड्डी अर्थात् रूखसारविरूद्ध मुद्धा दर्ता गरेको छ र छानविनको कारबाही सुरू गरिएको जानकारी दिएको भारतीय सञ्चारमाध्यममा समाचार छ ।


  •  
  •  
  •