बाँके, १३ भदौ (ओएनएस) : बाँकेको बाढी प्रभावित गंगापुरस्थित सोनवर्षा गाउँमा फैलिएको अज्ञात रोगले दुई दिनमा ६ जनाको ज्यान लिएको छ । गंगापुर–३ सोनवर्षाका ५२ वर्षिय कुन्जीलाल तेली, ४५ वर्षिया संवारा लोहार, साविर दर्जीका १ वर्षिय छोरा, भोला साईंका २ वर्षिया छोरी, वडा नम्वर २ का ५५ वर्षिय लेदे तेली, ३५ वर्षिय करिया पासीको मृत्यू भएको स्थानीय भोलाप्रसाद मौर्यले जानकारी दिए । तर, जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन रामबहादुर चन्दले एक जनाको मात्र मृत्यु भएको आफुलाई जानकारी आएको र थप विवरण आउन नसकेको बताए ।
सुरुमा ज्वरो आउने, हातखुट्टा र टाउको दुख्ने, रुघा खोकी लाग्ने, बेहोस हुने लक्ष्ण देखा परेको केही बेरमा नै विरामीको मृत्यु हुने गरेको स्थानियको भनाई छ । गाउँमा ८० प्रतिशत विरामी परेका छन् । साउन ३० गते आएको बाढीपछि गाउँमा विरामी पर्नेहरुको संख्या बढ्दै गएको हो । पिउने पानीका मुहान र खाद्य सामाग्री प्रदूषित भएकाले गाउँमा अज्ञात रोगको संक्रमण फैलिएको बताइएको छ । दर्जन बढी विरामीहरु उपचारका लागि भारतको बहराइच गएका छन् ।
यसैबीच प्रभावित क्षेत्रमा शुक्रबार चिकित्सकसहितको टोली जाँदै छ । डाक्टर सुभाष शर्मा र नेपाली सेनाका चिकित्सक राजीव महासेठको नेतृत्वमा छुट्टाछुट्टै टोली गंगापुरको सोनवर्षा र होलियाको चौफेरी जान लागेको हो । २०६३ सालमा सो गाउँमा फैलिएको महामारीका कारण झण्डै ४२ जनाको ज्यान गएको थियो ।