बेमौसमी वर्षाः ७ अर्ब २२ करोडको धान नष्ट, सडकमा १ अर्ब ५ करोडको क्षति

110
  •  
  •  
  •  


काठमाडौं । नेपालमा बेमौसमी वर्षाका कारण जनधनको ठूलो क्षति पुगेको छ । अविरल वर्षासँगै आएको बाढी पहिरो र डुबानका कारण १ सय १३ मृत्यु भएको छ भने अझै ३३ बेपत्ता भएका छन् । यस्तै वर्षाका कारण ७ अर्ब २२ करोडको धानबाली नष्ट भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार सर्वाधिक धानमा क्षति लुम्बिनी प्रदेशमा भएको छ। बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा कृषकले काटेको धान पानीमा डुबेको थियो। त्यसबाट कृषकलाई ४ अर्ब ५१ करोडको क्षति पुगेको छ। वर्षाले उक्त प्रदेशमा एक लाख ६१ हजार २२३ मेट्रिक टन धानमा क्षति पुर्‍याएको छ। वर्षाले असर गरेको क्षेत्रफल ९३ हजार ५७६ हेक्टर छ भने क्षति पुगेको क्षेत्रफल ४२ हजार ४२७ हेक्टर रहेको छ।

लुम्बिनीपछि सुदूरपश्चिममा क्षति भएको छ। सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा वर्षाले धेरै क्षति पुर्‍याएको छ। ती दुई जिल्लामा एक अर्ब ९१ करोड बराबरको धान नष्ट भएको मन्त्रालयले आँकडा निकालेको छ।

सुदूरपश्चिममा ५५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीलाई वर्षाले असर गरेको थियो। त्यसमध्ये १८ हजार हेक्टरमा लगाइएको धान नष्ट भएको छ। ६८ हजार ४०० मेट्रिक टन धानलाई वर्षातले क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मोरङ, झापा र सुनसरीको धानबाली नष्ट भएको छ।

प्रदेश १ का तीन जिल्लामा ८० करोडको धान वर्षाले नष्ट भएको छ। वर्षाले प्रदेश १ मा २८ हजार ४६९ मेट्रिक टन धानको विनास गरेको मन्त्रालयको भनाइ छ। ७ हजार ४९२ हेक्टर क्षेत्रफलको धान पूर्ण रुपमा नष्ट भएको छ। वर्षाले असर गरेको धानबालीको कुल क्षेत्रफल ४९ हजार ९४५ रहेको मन्त्रालयले जनाएको छ।

मुख्यतः तीन प्रदेशमा वर्षाले काटेको धानलाई क्षति पुर्‍याएको मन्त्रालयले जानकारी गराएको छ। मन्त्रालयका अनुसार एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा वर्षाले असर पुर्‍याएको छ। तीनै प्रदेशमा गरी ६७ हजार ९१९ क्षेत्रफलको धान पूर्ण रुपमा नष्ट भएको छ। दुई लाख ५८ हजार ९२ मेट्रिक टन धान वर्षाले क्षति गर्दा ७ अर्ब २२ करोड गुमेको मन्त्रालयले जनाएको छ ।

सडकमा १ अर्ब ५ करोडको क्षति

बाढी–पहिरोले सडक र राजमार्गहरूमा १ अर्ब ५ करोडको क्षतिको प्रारम्भिक विवरण आएको सडक विभागले जानकारी दिएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कात्तिक १ गतेयता परेको वर्षाका कारण आएको बाढी र पहिरोले १ अर्ब ५ करोडको क्षति भएको प्रारम्भिक अनुमान प्राप्त भएको बताए ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा महानिर्देशक थापाले भने, कात्तिक १ गतेयता परेको बेमौसमी वर्षाका कारण सडकमा भएको कुल भौतिक क्षतिको प्रारम्भिक अनुमान १ अर्ब ५ करोड आएको छ । यो अनुमान प्रारम्भिक हो, पूर्ण विवरण आउन बाँकी छ ।

बेमौसमी वर्षाले १८ वटा राजमार्गका २४४ ठाउँमा बन्द भएको थापाले जानकारी दिए । तीमध्ये अझै केही खुल्न बाँकी रहेको उनको भनाइ थियो । मनाङ, बाजुरा, बझाङलगायतका राजमार्ग अझै अवरुद्ध छ ।


  •  
  •  
  •