माओवादीबीचको कार्यगत एकता सकृय बनाउने प्रयास

51
  •  
  •  
  •  

काठमाडौं १५ भदौ (ओएनएस)  : एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीसहित ५ दल मिलेर बनेको कार्यगत एकता समितिलाई पुन सक्रिय बनाउने प्रयास भएको छ ।   भारतसँग विद्युत ब्यापार सम्झौता र विद्युत विकास सम्झौता गर्नेबारेमा एकीकृत माओवादी र नेकपा–माओवावादीबीच मतान्तर भएपछि निष्कृयजस्तै भएको समितिलाई पुन बैठक बोलाएर सक्रिय बनाउने प्रयास भएको हो ।

बैठक वस्न छोडेपछि समितिका संयोजक तथा क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापाले आइतवार मात्रै दुबै माओवादीका अध्यक्षसँग भेटेर बैठकका लागि आग्रह गरेका छन् । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले थापासँगको भेटमा समितिको अब अर्थ हुन छोडको जस्तो लागेको बताएका थिए ।

जवाफमा थापाले तत्कालको घटनाका लागि भन्दा पनि नयाँ संविधान र कम्युनिष्ट आन्दोलनका लागि आफूहरुको मोर्चावन्दी गरेको बताएपछि बैैद्य बैठकमा वस्न तयार भएका छन् । संयोजक थापाले भने,‘ बैद्यजीले औचित्य सकिएको जस्तो कुरो गर्नुभएको थियो तर मैले नयाँ संविधान र कम्युनिष्ट आन्दोलन लगायतका कुरा गरेपछि संकारात्मक कुरा गर्नुभएको छ ।’

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग पनि आइतवार नै भेटेर बैठक वस्न आग्रह गरेको थापाले जानकारी दिए । दाहाल बैठकका लागि सकारात्मक भएको र थप छलफल पछि बैठक वस्ने संयाजक थापाले जानकारी दिए । कार्यगत एकता समितिमा एकीकृत नेकपा माओवादी, नेकपा–माओवादी, नेकपा (माओवादी), नेकपा(एकीकृत) र क्रान्तिकारी कम्युनिष्ट पार्टी छन् ।

बाहिरबाट गोलमेच सम्मेलनका लागि दबाव दिन र संविधान सभाभित्र पहिचानसहितको संविधानका लागि दबाव दिन पाँच पार्टीले गत असारमा समिति गठन गरेका थिए । समितिको संयोजक सबै पार्टीले पालै पालो गर्दै आएका छन् । पछिल्लो समय समिति निष्कृय भएपछि संयोजक समेत फेरिन सकेका छैनन् । समितिको पहिलो संयोजक बनेका थापाले भने,‘ एक महिना मात्रै भनेको दुईमहिना भईसक्यो यो त अलि अन्याय जस्तो भएको छ, अरुलाई पनि बस्न मन होला ।’


  •  
  •  
  •