माओवादी एकता प्रक्रियालाई अन्तिम रुप दिने तयारी

191
  •  
  •  
  •  

काठमाडौं ३० बैशाख ।
पार्टी एकता अभियानलाई अन्तिम रुप दिन प्रयासरत एमाओवादी, वैद्य माओवादीलगायत धारहरुले ‘एकताको १२ बुँदे आधारपत्र’ मा सहमति गरेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थित निवासमा मंगलबार र बुधबार बसेको संयुक्त बैठकले उक्त आधारपत्र तयार पारेको हो । बैठकमा एमाओवादी अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, सचिव वर्षमान पुन, वैद्य माओवादीका तर्फबाट एकता पक्षधर समूहको नेतृत्व गरिरहेका महासचिव रामबहादुर थापा, नेताहरु देव गुरुङ, हितमान शाक्य, कुलप्रसाद केसी सहभागी थिए ।

‘दुवै पार्टीबीच माक्र्सवाद, लेनिनवाद र माओवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, संविधानका उपलब्धि संस्थागत गर्दै जनवादी क्रान्तिको दिशातर्फ अघि बढ्नेलगायत विषयमा समझदारी भएको छ,’ एमाओवादी सचिव वर्षमान पुनले भने, ‘यस आधारपत्रका आधारमा आ(आफ्ना केन्द्रीय समितिमा छलफल गर्छौं । अन्तिम निर्णय र एकता त्यसपछि हुन्छ ।’

एकीकृत माओवादीले वैद्य माओवादीसँग पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन केन्द्रीय समिति बैठक डाकेको छ । जेठ १ गतेदेखि बस्ने बैठकमा वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसहित क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा र नेकपा (माओवादी) का अध्यक्ष मातृका यादव सहित एकता हुने गरी बैठक बस्न लागेको हो । पार्टी एकता प्रक्रियामा वसन्त घर्ती नेतृत्वको माओवादी कम्युनिस्ट सेन्टर, हाल स्वतन्त्र रहेकी पूर्व माओवादी नेतृ जयपुरी घर्ती तथा नेत्रविक्रम चन्द नेतृत्वको माअ‍ोवादीमा गएका ५ केन्द्रीय सदस्य समेत सहभागी हुने उच्च स्रोतले दिएको छ ।

दाहालको लाजिम्पाटस्थित निवासमा बुधबार बिहान बसेको स्थायी समिति बैठकले एकता टुंगो लगाउने गरी बैठक डाकेको महासचिव कृष्णबहादुर महराले बताए । ‘पार्टी एकता अन्तिम रुप दिनका लागि केन्द्रीय समिति बैठक आयोजना गरिएको हो,’ उनले भने । वैद्य माओवादीले पनि जेठ २ गतेदेखि केन्द्रीय समिति बैठक आयोजना गर्दैछ । यसअघि दुई पटक स्थगित उक्त बैठकको एजेन्डा पनि पार्टी एकता नै हो, जसमा अध्यक्ष वैद्य तयार भइसकेका छैनन् ।

बाह्रबुदे आधारपत्र सार्वजनिक नगरिए पनि जनवादी क्रान्तिका लागि थाती रहेका कार्यभार पूरा गर्दै समाजवादी क्रान्तितफ अघि बढ्ने, संविधानसभाबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी(समानुपातिक प्रतिनिधित्व, समाजवादउन्मुख लोकतन्त्रलगायत सशस्त्र युद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्नेलगायत बुदा परेका छन् । संसदलाई उपयोग गर्ने नीतिसहित संसद, सडक र सत्ता तिनै ठाउमा बसी संघर्ष गर्ने दुई माओवादी निर्णय छ । ‘पार्टी एकताका लागि आधारहरु तयार भइसकेका छन्, अब त्यसलाई अन्तिम स्वरुप दिन बाकी छ,’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । बाह्रबुदे आधारपत्र तयार भएको बारे भने उनले खुलाउन मानेनन् ।

वैद्य माओवादीकी प्रवक्ता पम्फा भूसालले एकतापछि पार्टीको स्वरुप कस्तो हुने भन्नेमा समेत छलफल चलिरहेको बताइन् । सबै केन्द्रीय समिति जोडा ठूलो देखिन जाने भएकाले ‘महाधिवेशन आयोजक समिति’ का रुपमा केन्द्रीय समिति रहने सम्भावना रहेको उनको भनाई थियो । यसअघि महासचिव रामबहादुर थापाले नेतृत्व गर्ने एकता पक्षधर समूहको बैठक मंगलबार अपराह्न कुपन्डोलमा बसेको थियो । १ सय ९९ केन्द्रीय समिति सदस्यमध्ये १ सय ८ केन्द्रीय सदस्य बैठकमा उपस्थित भएका थिए । एमाओवादी अध्यक्ष दाहाल र महासचिव थापाबीच बुधबार छलफल भएपछि मंगलबार एक दिन चलेको थापा समूह बैठक बुधबार स्थगित गरिएको थियो । कान्तिपुरबाट


  •  
  •  
  •