काठमाडौं, २८ भदौ (ओएनएस) : महाधिवेशन स्थगित भएको विरोधमा नेविसंघका केही असन्तुष्ट नेताले आमरण अनसन सुरु गरेका छन् ।
माउ पार्टी नेपाली कांग्रेसले अन्तिम समयमा आएर महाधिवेशन स्थगित गरेको भन्दै त्यसको विरोधमा असन्तुष्ट नेताले कांग्रेस पार्टी कार्यालय सानेपा, ललितपुरमा आमरण अनसन सुरु गरेका हुन् ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटाको नेतृत्वमा आमरण अनसन सुरु भएको हो । सापकोटाले नेविसंघका अध्यक्ष रन्जित कर्णको राजिनामा, नेविसंघको महाधिवेशनको तयारी जहाँबाट भएको त्यतिबाट प्रकृया अगाडी बढाउनुपर्ने लगायतका माग राखेर आमरण अनशन सुरु गरेको जानकारी दिए ।
उनले ओएनएस न्यूजसँग भने,‘कर्णको नेतृत्वमा महाधिवेशन हुन सक्दैन भनेर मैले अघिल्लो वर्ष नै राजिनामा दिएको हुँ तर आज पनि मेरो अडान त्यही नै हो र तत्काल नेविसंघको महाधिवेशन गर्नका लागि दबाव दिन आमरण अनुसन सुरु गरेका छौं ।’
सापकोटालाई नेविसंघका नेता शंकर पौडेल, सुजन अधिकार, रवीन्द्र रोका लगायतले साथ दिएका छन् ।