‘युनिफर्म’मै २१ अर्व रुपैयाँ खर्च

146
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडौं २२,असार (ओएनएस) । ‘युनिर्फम’मा मात्रै वार्षिक करिव २१ अर्व रुपैयाँ खर्च हुँदै आएको तथ्यांक सार्वजनिक भएको छ । त्यसमध्ये सरकारी कर्मचारीले २ अर्व र विद्यार्थीहरूले १८ अर्व रुपैयाँ खर्च गर्ने नेपाल कपडा तथा सिलाई व्यवसायी संघले बताएको छ ।

त्यस्तै निजी क्षेत्रले वार्षिक १ अर्व रुपैयाँ बराबरको ‘युनिफर्म’ प्रयोग गर्ने संघका अध्यक्ष रामनाथ श्रेष्ठले बताए । ‘निजामती कर्मचारीका लागि ७७ हजार, शिक्षकका लागि २ लाख र विद्यार्थीका लागि ७४ लाख युनिफर्म तयार गर्ने गरेका छौं’ उनले भने ।

सरकारी कर्मचारीले प्रयोग गर्ने पोसाकको मूल्य ७ हजार र विद्यार्थीले प्रयोग गर्ने पोसाकको मूल्य २ हजार ५ सय रुपैयाँ प्रतिमिटर रहेको सङ्घले जानकारी दिएको छ । स्कुल तथा कलेजहरू खुल्नेक्रम बढ्दै जाँदा युनिफर्मको माग पनि बढेको श्रेष्ठ बताउँछन् । त्यस्तै निजामती कर्मचारीलाई पोसाक अनिवार्य गरेपछि व्यवसाय बढेको व्यवसायीहरू बताउँछन् ।

पछिल्लो समय निजी कम्पनीहरूले पनि पोसाक अनिवार्य गर्न थालेकोले यो व्यवसायमा सम्भावना रहेको छ । तर दक्ष जनशक्तिको अभावले गर्दा मागअनुसार पोसाक तयार गर्न नसकिएको सङ्घको गुनासो छ ।

नेपालको टेलरिङ (सिलाई कटाई ) व्यवसायमा १ लाख जनाले रोजगारी पाएका छन् । त्यसमध्ये ५० हजार कामदार भारतबाट मगाइएको संघले जानकारी दिएको छ । ‘हामीलाई मागअनुसार पोसाक तयार गर्नका लागि थप ३ लाख दक्ष जनशक्ति आवश्यक पर्छ’ उनले भने । नेपालमा दक्ष जनशक्ति नभएकोले भारतबाट कामदार हायर गरि ल्याइएको श्रेष्ठले जानकारी दिए । नेपालमा भारत,चीन,बङ्गलादेशलगायत देशबाट टेक्स्टायल आयात गरिदै आएको छ ।

त्यस्तै आयातित टेक्टटायलमा भन्सार मूल्य बढी भएकोले व्यवसायमा समस्या भएको व्यवसायीहरूको गुनासो छ । ‘भन्सार मूल्य बढी पर्ने हुनाले उपभोक्तालाई बढी मूल्यमा पोसाक विक्री गर्न बाध्य छौं’ उनले भने । पोसाकको भन्सार मूल्य मिटरको ४ देखि २ सय रुपैयाँ पर्ने संघले जानकारी दिएको छ ।


  •  
  •  
  •