द्विविधामा फर्के राष्ट्रसंघका उपमहासचिव

327
  •  
  •  
  •  

काठमाडौं २ माघ ।
नेपालको पछिल्लो घटनाक्रमबारेमा प्रत्यक्ष जानकारी लिन राजधानी आएका राष्ट्रसंघिय उपमहासचिव जेफ्रे फेल्टम्यान यहाँको राजनीतिक अवस्थाबाट आफैं द्धिविधामा परेर फर्केका छन् । उनी टर्किस एअरलाइन्सबाट मुख्यालय र्फकनु अघिसम्म निकटस्थहरुलाई भन्दै थिए, ‘सबै सकारात्मक छन् । तर, कसको कुरा ठीक हो भन्ने । राजनीतिक अन्यौल नै पाएँ । के कुरामा अडेको भन्नेमा नेताहरू नै आफै अन्यौलमा रहेको पाएँ । महासचिवलाई राजनीतिक अन्यौल कायम रहेको सुनाउनुको विकल्प छैन’

उनले संविधानसभामा शतप्रतिशत सहमति हुन नसके पनि अधिकतम समझदारीमा संविधान जारी गर्न सबै नेतालाई आग्रह गरे । तर, उनले प्रजातान्त्रिक प्रक्रियाबाट संविधान जारी गर्न भनेनन् । उनले शतप्रतिशत समझदारीबाट ल्याउनु भन्ने आँट पनि गरेनन् । यसबाट उनी मुलुकको राजनीतिक अवस्थाबारे अन्यौल र द्विविधमा परेको देखिएको एक अधिकारीले बताए । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘प्रत्यक्ष जानकारी चाहिएको हुन्छ त्यो लिए गए । अन्य कुरा थाहा नै थियो ।’ ‘उनले अधिकतम लचकता अपनाउन सबैलाई आग्रह गरेर फर्केका छन् जुन आग्रह राष्ट्रसंघले सन २००६ देखि नै गर्दै आएको हो’ ती अधिकारीले भने ।

अधिकतम सहमतिको आधारमा नेताहरुले निर्धारित मितिमा संविधान जारी गर्ने प्रतिवद्धता आफूसित ब्यक्त गरे पनि सहमतिमा ढिलाइ हुनुको कारण नखुलाएको उनले बुधबारको रात्रीभोजका सहभागीलाई सुनाएका थिए । उनले विभिन्न दलका नेतासितको भेटमा अधिकतम सहमतिमा संविधान समयमै जारी गर्नका लागि अधिकतम लचकता अपनाउन आग्रह गरेका थिए ।

उनले सत्तारुढ कांग्रेस र एमालेको संविधानसभामा प्रक्रियामा जाने प्रस्तावको विरोध पनि गर्न सकेनन्, त्यसको समर्थनसमेत गरेका छैनन् । यसबाट पनि स्पष्ट हुन्छ राष्ट्रसंघ आफै पनि यसमा स्पष्ट छैन  । ‘नेपाली नेताहरुबाट नै निर्णय हुने हो । सकारात्मक निर्णय हुने आशा छ’ उनको भनाइ थियो ।

सत्तारूढ दलले बहुमतीय प्रकृयाबाटै भए पनि संबिधान जारी गर्ने बताइरहेका बेला राष्ट्रसंघले ‘लचकता, समावेशीता र सम्झौताका आधारमा’ नयाँ संविधान जारी गर्न सुझाएको छ । रात्री भोजमा उनले भनेका थिए- ‘संविधानसभा बहिष्कार नगर्न तथा मतदानका लागि बाध्य नपार्न’ का लागि अधिकतम सहमतिका साथ अघि बढ्न आग्रह गरेका थिए ।

उनले राजधानीमा रहदा राष्ट्रपति रामवरण यादब, प्रधानमन्त्री सुशील कोइराला, संविधान सभाध्यक्ष सुवास नेम्वाङ, प्रधानसेनापति गौरवसमसेर राणा, राजनीतिक दलका शिर्ष नेताहरु, महिला सांसद र कूटनीतिज्ञहरुसंग छलफल गरेका थिए । रात्रीभोजमा उनले नेताहरुसंग भने, ‘यहाँका शिर्ष नेताहरुको कुरा सुन्दा नमिल्ने देख्दिन, तर कहाँ सहमति अडकेको छ । हामीले के गर्नपर्ने हो, कसैले भन्दैनन् । अलमलमा परें ।’

कान्तिपुरबाट


  •  
  •  
  •