आन्दोलनका लागि तयार रहन एमाओवादीको निर्देशन

51
  •  
  •  
  •  

काठमाडौं ३१ असोज ।
एकीकृत माओवादीले आफ्ना केन्द्रीय सदस्यहरूलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएको छ । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रगतिशील संविधान निर्माणका लागि कांग्रेस–एमाले तयार नरहेको भन्दै आन्दोलनमार्फत दबाब पैदा गर्नुपर्ने वेला आएको बताएका छन् ।

प्रचण्डले सडक र सदनको उचित तालमेल गरेर दबाब सिर्जना गर्न नसके प्रगतिशील संविधान नबन्ने बताए । बैठकमा पछिल्लो राजनीतिक अवस्था र दलहरूबीच संविधान निर्माणका लागि भइरहेको संवादबारे प्रचण्डले ब्रिफिङ गरेका थिए । ‘अहिले सहमति हुन्छ भनेर भन्न सक्ने अवस्था तयार भएको छैन, कांग्रेस–एमाले ०४७ सालतिरै जान खोजेका छन्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्थायी समिति सदस्य लोकेन्द्र विष्टले भने, ‘यस्तो अवस्थामा आन्दोलनको विकल्प रहँदैन, तपाईंहरू तयार भएर बस्नुहोला ।’

बैठकमा अध्यक्ष प्रचण्डले जनताको अधिकार नभएको संविधान आफूहरूले मान्न नसक्ने बताए । ‘कांग्रेस–एमालेले हामीलाई पेलेर जान चाहेका छन्, प्रक्रिया–प्रक्रिया भनेर उनीहरूले बहुमतका आधारमा आफ्नोअनुकूलको संविधान बनाउन खोजेका छन्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै विष्टले भने, ‘हामी मिल्ने पक्षमा छौँ, मिलेर नै संविधान बनाउन खोजेका छौँ, तर सत्तारुढ दलहरू यसका लागि तयार भएका छैनन् ।’
नयाँपत्रिकाबाट


  •  
  •  
  •