काठमाडौं १८ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा-माओवादीबाट अलग भएर नेकपा माओवादी गठन गरेपछि नेकपा-माओवादी रक्षात्मक अवस्थामा देखिएको छ। आफ्ना कार्यकर्तालाई विप्लवको संयोजकत्वमा गठित पार्टीमा जानबाट रोक्न नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यलगायत शीर्ष नेता जिल्ला दौडहामा निस्किएका छन्।
वैद्यको कार्यदिशासँग असहमति रा दै विप्लवले केही दिनअघि नेकपा माओवादी गठन गरेका थिए। पार्टी फुटाउनुअघि विप्लव सचिव थिए। अढाइ वर्षअघि विप्लवसमेतको सहयोगमा एमाओवादीबाट अलग भएर वैद्यले नेकपा-माओवादी गठन गरेका थिए। अहिले आएर उनै सहयोगी विप्लवले अलग भएर नयाँ पार्टी गठन गरेपछि वैद्य एमाओवादीसँग नजिकिनुपर्ने बाध्यतामा पुगेका छन्।
उता एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि कार्यकर्तालाई विप्लवको पार्टीमा जानबाट रोक्ने पक्षमा छन्। यस अर्थमा दाहाल-वैद्य पार्टी एकताको सूत्रको खोजीमा लागेको उच्च स्रोतले बतायो।
कार्यकर्तालाई विप्लवको पार्टीमा जानबाट रोक्न नेकपा-माओवादीका अध्यक्ष वैद्य सुदूरपश्चिम, उपाध्यक्ष सीपी गजुरेल कोचिला, महासचिव रामबहादुर थापा ‘बादल’ भोजपुरा र सचिव देव गुरुङ तमुवान क्षेत्रमा पुगेका छन्।
‘अध्यक्ष एक सातामा आउनुहोला, अन्य नेताहरू जिल्लातिरै रहनुहुन्छ’, पार्टी प्रवक्ता पम्फा भुसालले अन्नपूर्णसँग भनिन्, ‘हामी सबै माओवादीको एउटै केन्द्र बनाउनुपर्छ भन्ने पक्षमा छौं।’
चन्दले पार्टी फुटाएपछि वैद्य र दाहालबीच एकताको सूत्र खोज्ने विषयमा छलफल भएको छ। छलफल सकारात्मक रहेको जानकारी भुसालले दिइन्। ‘नयाँ जनवादी क्रान्ति पूरा गर्न क्रान्तिकारीहरू जुट्ने गरी छलफल अगाडि बढाउनुपर्छ’, भुसालले भनिन्।
वैद्यले पुस १० गते पार्टीको राष्ट्रिय भेला र दाहालले मंसिर २८ गतेदेखि केन्द्रीय समितिको बैठक बोलाएका छन्। वैद्यले भेलामा र दाहालले केन्द्रीय समितिमा पार्टी एकताबारे प्रस्ताव लैजान सक्ने स्रोतहरूले जनाएका छन्।
एमाओवादी महासचिव कृष्णबहादुर महराले भने, ‘हामी त एकताका पक्षमा छौं। उहाँहरूले चाहनुभयो भने हुन्छ।’ स्रोतका अनुसार कार्यकर्तालाई चन्दले आफूतिर तान्नसक्ने डरका कारण दाहाल र वैद्य दुवैका लागि छिटो पार्टी एकता गर्नुपर्ने बाध्यता देखिए पनि राजनीतिक विषय मिलाउन भने उनीहरूलाई समय लाग्नेछ।
एमाओवादी संविधानसभाभित्र छ भने नेकपा-माओवादी संविधानसभाबाहिर छ। वैद्यले दाहाललाई संविधानसभा छाडेर सडकमा आउन दबाब दिँदै आएका छन् भने तत्काल संविधानसभा छोडिहाल्नु प्रतिकूल हुने दाहालको विश्लेषण छ।
‘नयाँ आधारमा नयाँ एकता र नयाँ माओवादी आन्दोलन अहिलेको आवश्यकता हो’, नेकपा-माओवादीका महासचिव बादल निकट एक नेताले अन्नपूर्णसँग भने। दाहालसँग पार्टी एकता गर्ने मामिलामा वैद्यभन्दा बादल बढी अग्रसर छन्। ‘पार्टी एकता नगरी माओवादी आन्दोलनको भविष्य रहँदैन’, बादललाई उद्धृत गर्दै ती नेताले भने।
यसअघि वैद्यले पार्टी एकताका लागि पठाएको ६ बुँदे प्रस्तावलाई दाहालले सकारात्मक रूपमा लिँदै जबाफ पठाइसकेका छन्। दाहालको जबाफलाई पनि वैद्यले सकारात्मक रूपमा लिएका छन्। विप्लवले भने वैद्यका कार्यकर्तालाई कि त आफूतिर आउन कि त दाहालतिर जान दबाब दिँदै आएका छन्।
विप्लवले १० वर्षे सशस्त्र संघर्षका बेला लुकाएका हतियार नियन्त्रणमा लिएको र नेपाली सेनामा समायोजनका लागि अयोग्य भएर शिविरबाट निकालिएका लडाकुहरूलाई आफूतिर आकर्षित गरेको दाहाल र वैद्यको ठम्याइ छ। अन्नपूर्णपोष्टबाट