आचार संहिता उल्लंघन पार्टीले होइन, शुभेच्छुकले : एमाले

नेताहरुको प्रचार सामग्री बनाइरहेको प्रति आभारसमेत प्रकट गरेको छ
778
  •  
  •  
  •  

काठमाडौँ, १३ मंसिर (ओएनएस) : आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेपछि नेकपा एमालेले आफूले प्रत्यक्ष रुपमा उल्लंघन नगरेको तर शुभेच्छुकहरुले प्रचार गरिदिएको प्रतिक्रिया दिएको छ । त्यस्ता शुभेच्छुकलाई निर्वाचन आचार संहितामा रही प्रचार प्रसार गर्न अनुरोध पनि एमालेले गरेको छ ।

बुधबार एमाले प्रवक्ता विष्णु रिजालले प्रेस नोट जारी गरी तस्बिरसहित केही सञ्चार माध्यमहरुले आफ्नो पार्टीका शीर्ष नेताहरुको प्रचार सामग्री बनाइरहेको प्रति आभारसमेत प्रकट गरेको छ ।

मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा एमालेको पक्षमा जनलहर चलिरहेकाले सबैको सदभाव रहिरहने प्रेस नोटमा उल्लेख गरेको छ ।

नेकपा एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले प्रचार सामग्री बनाउँदा आचार संहितामा सीमाभित्र रही काम गर्न शुभ चिन्तक, मतदाता लगायतलाई आह्वान गरेको छ । ‘आचार संहिता पालना बाध्यता हैन, दायित्व हो,’ एमालेले भनेको छ । निर्वाचन आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनुगमनका क्रममा कांग्रेस, एमाले, राप्रपालगायतले आचार संहिता विपरीत रहेर प्रचार प्रसार गर्नुका साथै तोरणहरु सडकको वारपार गरी टाँसेकाले तत्काल हटाउन निर्देशन दिएको थियो ।


  •  
  •  
  •