एमाले मन्त्रीको टुंगो आज लगाउने

149
  •  
  •  
  •  

काठमाडौं १७ कात्तिक ।
एमालेले आफ्नो भागमा परेका मन्त्रालयमा पठाउने मन्त्रीको नाम मंगलबार टुंगो लगाउने भएको छ। पार्टी स्थायी समितिको सोमबार बसेको बैठकमा यसबारे छलफल गर्ने एजेन्डा राखिए पनि समय अभावले मंगलबारमात्र छलफल हुने पार्टी सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।

यसअघि मन्त्रीको टुंगो लगाउन मापदण्ड बनाएर प्रधानमन्त्रीलाई जिम्मा दिने कि स्थायी समितिमा छलफल गर्ने भन्ने थियो। तर नेताहरूबीच यस विषयमा सहमति नजुटेपछि अन्ततः स्थायी समितिमा यो विषय छलफलको एजेन्डा बनेको हो।

यस विषयमा मंगलबार छलफल गरी निर्णयमा पुग्ने भट्टराईले बताए।बैठकले तराईमा भइरहेको आन्दोलनका सन्दर्भमा देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै असर नपर्नै गरी वार्ता गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको पनि उनले बताए।

बैठकले पार्टीका नेता विद्या भण्डारी राष्ट्रपति भएकोमा बधाईज्ञापन गरेको छ। त्यसैगरी एमाओवादी नेता नन्दबहादुर पुन उपराष्ट्रपति र ओनसरी घर्ती सभामुख भएकोमा पनि बैठकले धन्यवादज्ञापन गरेको छ।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •