एमाले केन्द्रीय कमिटी बैठक बस्दै, त्यसअघि पदाधिकारी

114
  •  
  •  
  •  

काठमाडौं २२ कात्तिक (ओएनएस) : नेता मावध कुमार नेपालले पेस गरेको अध्यक्ष केपी शर्मा ओली विरुद्धको सात बुँदे प्रस्तावसँगै अवरुद्ध भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । १४ कात्तिकमा नेपालको प्रस्ताव लगत्तै स्थगन भएको र १८ गते बस्दै नबसि स्थगित बैठक आज बोलायएको छ । बैठकमा पार्टीको कार्यविभाजन, कार्ययोजना र पोलिटब्यूरो गठनलगायतका एजेण्डामा छलफल हुने कार्यतालिका रहेको छ । तर, नेपाल पक्षले सात बुँदेमा छलफल नगरि अरु विषयमा प्रवेश गर्न नदिने अडान लिएको छ ।

केन्दीय कमिटीको बैठक मध्यान्ह १२ बजे बस्ने भएको छ । त्यसअघि बिहान ११ बजे पदाधिकारी बैठक बोलाइएको छ । नेपाल पक्षले आफूले उठाएका विषय सम्बोधन नगरी केन्द्रीय कमिटी बैठकमा अन्य एजेन्डामा छलफल हुन नदिने रणनीति बनाएको छ । नेपाल पक्षका एक नेता भन्छन् ‘ शनिबार बस्ने बैठकमा अध्यक्ष ओलीले पोलिटब्यूरो गठन, पार्टीका विभाग गठन लगायतका एजेण्डा अघि बढाउन खोजे अवरोध हुनेछ ।’ नेपालले राखेका विषयमा सम्बोधन नगरेसम्म पोलिटब्यूरो चयन, कार्यविभाजन र कार्ययोजना लगायतका कुनै पनि कुरा अघि बढ्न नदिने गरी नेपाल पक्षका केन्द्रीय सदस्य तयारी अवस्थामा छन् ।

नेपाल पक्षीय केन्द्रीय सदस्य ठाकुर गैरेले नेपालले राखेको सातबुँदे प्रस्तावमा अध्यक्षको भनाइ आएपछि अरु कुरा तय हुने बताए । ‘अध्यक्षको भनाइ कस्तो आउँछ, त्यस आधारमा हामी रणनीति तय गछौर्‌ँ’ उनले भने, ‘अध्यक्षको कार्यशैलीले पार्टी एक बनाउने कि दुई बनाउने भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’

ओली भने आफ्ना पक्षका धेरै नेताहरुलाई पोलिटब्यूरोमा ल्याउने र आफूअनुकूल निर्णय गर्न सकिने पार्टी संरचना तयार गर्ने योजनामा छन् । पोलिटब्यूरो चयनका लागि निर्वाचनमा जाने र नेपाल पक्षका नेताहरुलाई आउनै नदिने तयारी गरेको स्रोतले बतायो । यसो गर्दा प्रजातान्त्रिक विधिको दुहाई दिन पनि पाइने र आफूअनुकूल नतिजा पनि आउने ओली पक्षको विश्लेषण छ । ओलीले आफूअनुकूल पार्टी सञ्चालन गर्न आफ्ना सबैभन्दा निकटस्थ पात्र उपाध्यक्ष विद्या भण्डारी र नेता शंकर पोखरेलसँग परामर्श गरिरहेका छन् । पार्टी सञ्चालनको योजनामा उनकै गुटका महासचिव ईश्वर पोखरेलको सहभागी गराउने गरिएको छ । पोलिटब्यूरो र स्थायी समिति नभएकाले अहिले अध्यक्ष नै संस्थागत भएको तर्कसहित नेपाल पक्षलाई बाइपास गरेर एकल निर्णयमा पार्टी चलाउन सकिने भित्री निस्कर्ष ओली पक्षको छ ।

नेपालले केन्द्रीय कमिटी बैठकमा राखेका विषय पार्टीको सम्पत्तिका रुपमा रहने गरी सम्बोधन गर्ने तर निर्णय प्रक्रिया आफ्नो ढंगले गर्ने ओली पक्षको रणनीति छ । ‘अध्यक्ष ओलीले नेपालले उठाएका सातबुँदे विरोधपत्रमा मंगलबार सम्बोधनसहित केही विषयमा आत्मओलोचना पनि गरेजस्तो गर्नेछन्, राम्रा कुरा लागू गर्ने प्रतिबद्धता पनि जनाउनेछन् तर निर्णय प्रक्रिया अध्यक्षात्मक प्रणाली अनुसार नै हुने सन्देश पनि छाड्नेछन्,’ उनी निकटका एक केन्द्रीय सदस्य भन्छन् । ‘यसअघि सुरेन्द्र पाण्डे र विद्या भण्डारी मन्त्री बनाउँदा कसलाई थाहा थियो र अहिले नेपालले त्यो प्रश्न उठाउन मिल्छ ?’ ती सदस्यको टिप्पणी छ, ‘धेरै कुरा नेपालले यसअघि आफ्नै कार्यकालकै आलोचना गरेका छन् ।’


  •  
  •  
  •