नेपालको विरोधपत्रले एमाले बैठक स्थगन

151
  •  
  •  
  •  

काठमाडौं १४ कात्तिक (ओएनएस) :  अध्यक्ष केपी शर्मा ओली विरुद्ध नेकपा एमाले केन्द्रीय कमिटीमा नेता माधवकुमार नेपालले असन्तुष्टि सहितको लिखित विरोध पत्र पेस गरेका छन् । पार्टीको अध्यक्ष भएपछिको काम कारवाहीलाई लिएर नेता नेपालले लिखित रुपमा चर्को असन्तुष्टि राखेपछि निर्धारित कार्यतालिका विपरित बैठक स्थगित भएको छ । नेता नेपालले फ्लोअरबाटै करिव ३ हजार शब्दको सातबुँदे असन्तुष्टि राखेपछि १८ गते सम्मका ललागि अध्यक्ष ओलीले बैठक स्थगन गरेका छन् । पार्टीको नीति विधान र विधिभन्दा बाहिर गएर मनोमानी, स्वेच्छाचरिता र एकलकाँटे तौरतरिकाले पार्टी चलाउन खोजेको नेपालको गम्भीर आरोप छ ।

बिहीबार आफु निकटस्थहरुसँगको लामो छलफलपछि नेपालले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा लिखित विरोध राखेका छन् । नेपालले महाधिवेशनका निर्णय उल्लंघन गरिएको, पार्टीको विधान र संगठनात्मक सिद्धान्तलाई लत्याइएको, केन्द्रीय कमिटीको निर्णय उलंघन गरिएको, पदाधिकारी बैठकका सहमतिको उल्लंघन चरम निरङ्कुश कार्यशैली अवलम्बन गरिएको आरोप लगाएका छन् । नेपालले केन्द्रीय कमिटीमा राखेको अपिलमा नयाँ मन्त्रीको चयन गर्दा पनि कुनै विधि, मापदण्ड र प्रक्रिया अबलम्बन नगरिएकोमा पनि आपत्ति जनाएका छन् ।
‘अध्यक्ष ओलीका कारवाहीबाट पार्टीको आन्तरिक एकता बलियो पार्ने होइन की त्यसलाई कमजोर पार्ने काम मात्र भएको छ ।’ नेपालले आरोप पत्रमा भनेका छन् ‘यतिबेला राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीबाट जुन प्रभावकारी भुमिका खेलिनुपर्ने हो त्यो भैरहेको छैन ।’
राज्यपुनर्संरचनाका विषयमा पनि अध्यक्ष ओलीले निणर्य विपरित प्रस्ताव राख्नु गम्भीर गल्ती भएको नेपालको ठहर छ । ‘अध्यक्ष नै सर्वेसर्वा हो भन्ने कमरेडहरुसँग सोध्न चाहन्छु के अध्यक्षलाई पार्टीभित्र निर्णय नभएका विषयमा बोल्ने अधिकार हुन्छ ?’ नेपालले विरोधपत्रमा प्रश्न गरेका छन् । सुकुम्बासी आयोगको गठन र सरकारले मनोनयन गर्ने २६ जना सभासद् मनोनयनको सन्दर्भमा पदाधिकारी बैठकमा भएका सहमतिलाई अध्यक्षद्वारा नै ठाडै उलंघन गरेको पनि नेपालले बताएका छन् । नेपालले आफ्नो प्रस्ताव समिक्षा नभएसम्म बैठकका अन्य एजेण्डामा प्रवेश नगर्न आग्रह गरेपछि ओलीले बैठक नै केहीदिनलाई स्थगन गरेका थिए । नेपाल पक्षले अध्यक्ष ओलीपक्षले एकलौटी जान खाजेको निस्कर्ष सहित त्यसको प्रतिवाद गथर्ने रणनीति बनाएको छ ।

नेपाल किन मञ्चमा आएनन ?
एमाले नेता नेपाल यसअघिका दुईवटा बैठकमा पदाधिकारी बस्ने गरेको मन्चमा नै बसेका थिए । तर, शुक्रबार अचानक केन्द्रीय सदस्यहरु बस्ने अगाडीको फ्लोअरमा नै बसे । महासचिव ईश्वर पोखरेलले पटक पटक मन्चमा आउन आग्रह गरेका थिए । नेपालले आफु केन्द्रीय सदस्य मात्रै भएको भन्दै केन्द्रीय सदस्यकै हैसियतमा बस्न चाहेको जवाफ फर्काए । स्रोतका अनुसार यसअघिको बैठकमा अध्यक्ष ओली पक्षमा भानुभक्त ढकाल लगायतका केही नेतालले नेपाल कुन हैसियतमा मन्चमा अध्यक्षहरुसँगै बसेको भन्ने टिप्पणी गरेपछि नेपालले शुक्रबारको बैठकमा तलै बसेका हुन् ।

ओलीको स्पष्टिकरण

अध्यक्ष केपी शर्मा ओलीले संघियताका विषयमा आफुले प्रस्ताव गरेको संघहरुको संख्याका विषयमा स्पष्टिकरण दिएका छन् । शुक्रबार बिहानको पदाधिकारी बैठकमा समेत उनलाई पार्टीभन्दा माथि रहेर राज्यपुनर्संचनाका विषयमा भनाई राखेको दवाव परेपछि केन्द्रीय समितिको बैठकमा उनले त्यो आफ्नो व्यक्तिगत धारणा मात्रै भएको स्पष्टिकरण दिएका छन् । ‘मैले एमाओवादीलाई गलाउनका लागि मात्रै ४ प्रदेश एमालेको प्रस्ताव हो भनेका हुँ’ उनले भने, ‘म एमालेले लिएको ६ वा ७ प्रदेशको अडानबाट पछि हटेको छैन ।’

नेपालको प्रश्न -मन्त्री बनाउने योग्यता के हो ?  ?

अध्यक्ष ओलीलाई नेता नेपालले मन्त्रीको योग्यता समेत सोधेका छन् । पार्टीबाट सरकारमा पठाइएका दुइ जना मन्त्रीहरुलाई मनोमानी ढङ्गले, सम्बन्धित व्यक्तिहरुलाई समेत जानकारी नदिई, कार्वाहीको शैलीमा अपमानपूर्वक हटाउने काम गरियो । पार्टीको निर्णय तथा न्युनतम परामर्श विना नै केन्द्रीय सचिव र सदस्य रहेका क. भीम आचार्य र क. कर्ण थापालाई वर्खास्त गरी आफुखुसी नयाँ मन्त्री बनाउने काम गरियो । वर्खास्त गर्न पर्नुको कारणबारे सम्बन्धित व्यक्तिलाई र पार्टीलाई केही बताइएन, कुनै स्पष्टिकरण सोधिएन, कमिटीमा छलफलको रुपमा ल्याइएन । तर बाहिर भने हटाइएकाहरुको बद्नाम गर्नेगरी पार्टी नेतृत्वबाटै हल्ला चलाइयो । यति महत्वपूर्ण काम एकल निर्णयको आधारमा गरियो । यदि निजहरुबाट कुनै कमी–कमजोरी भएको भए पार्टीमा छलफल गर्नुपथ्र्यो र सम्बन्धित व्यक्तिसँग स्पष्टिकरण लिनुपथ्र्यो ।

जुन शैलीमा उहाँहरुलाई हटाइयो त्यसमा अध्यक्षको स्वेच्छाचारिता बाहेक अरु केही देखिदैन । कुनै पनि नेता वा कार्यकर्ताले अपमान सहनको लागि वा बेइज्जती बेहोर्नको लागि राजनीति गरेको हुँदैन । अझ त्यसमाथि पार्टीले विश्वास गरेर सरकारमा पठाइएको व्यक्तिले त राम्रो काम गरेर आफ्नो नामको साथै राष्ट्रको प्रतिष्ठा उँचो राख्ने अभिष्ट राखेको हुन्छ । मन्त्री बन्ने विषय केवल पार्टीको मात्र नीजि विषय बन्न त सक्दैन भने व्यक्ति मात्रको कसरी बन्न सक्छ ? यसरी अपमानपूर्वक निस्कासन गर्ने हो भने यो पार्टीको कुनै पनि क्षमतावान एवम् स्वाभिमानी मानिस मन्त्री बन्न तयार हुने छैन । आज कसैलाई अपमानपूर्वक हटाएर खालि भएको ठाउँमा मन्त्री बन्नेले भोली आफ्नो पनि त्यही गति हुनसक्छ भन्ने कुरा बुझ्नेछन् र त्यसबाट जोगिनका लागि भएपनि व्यक्तिको चाकडिमा लिप्त हुनुपर्ने बाध्यता हुनेछ । यो कस्तो प्रणाली हामी विकास गर्दैछौँ ? आफ्नो स्वार्थ विर्सेर दुनियाँले हामीलाई के भन्दैछ भन्नेतिर अलिकति घोत्लिएर एक पटक सबै कमरेडहरुले गम्भिर रुपमा चिन्तन गरौं ।
त्यसैगरी नयाँ मन्त्रीको चयन गर्दा पनि कुनै विधि, मापदण्ड र प्रक्रिया अबलम्बन गरिएन ।

मन्त्री बनाउने योग्यता के हो ? पार्टी निर्माणमा पु¥याएको योगदान, योग्यता, क्षमता, वरिष्ठता वा के ? कुनै पनि मापदण्ड तथा प्रक्रिया विना व्यक्तिगत रोजाइका आधारमा नियुक्ति गर्ने परिपाटीले पार्टीमा कस्तो परम्परा वस्छ र यसले पार्टी नेता कार्यकर्तामा कस्तो सन्देश जान्छ ? के सोंच्नु पर्दैन ?


  •  
  •  
  •