प्रदेश संरचना अनुसार पार्टी चलाउने एमाले निर्णय

306
  •  
  •  
  •  

काठमाडौं ३ बैशाख (ओएनएस) अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । निर्धारण गरेको समयभन्दा तीनदिनपछि प्रतिवेदन सर्वसम्मत पारित गर्दै बैठक शुक्रबार सकिएको हो । एमाले प्रदेशको संरचना अनुसार पार्टीलाई लैजाने पनि निर्णय गरेको छ ।

अध्यक्ष ओलीले पेश गरेको प्रतिवेदनलाई बैठकले पारित गर्दै संविधानमा उल्लेख भएअनुसार प्रदेश कमिटि पनि गठन गर्ने निर्णय गरेको हो ।

बैठकले देशमा निर्माण भएका सातवटा प्रदेशको संरचना अनुसार बाधा अड्काउ फुकाउ विधिबाट पार्टीको प्रदेश कमिटि गठन गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए । बैठकले प्रदेश कमिटी निर्माणका लागि विधि तय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको छ ।

खनाल नेपाललाई ओलीको कटाक्ष
बैठकमा अध्यक्ष ओलीले बरिष्ठ नेता झलनाथ खनाल र नेता माधव कुमार नेपालाई कटाक्ष गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफूले गुटबन्दी नगरेको प्रस्टिकरण दिदै कटाक्ष गरेका हुन् । ओलीले माधव नेपाल तथा झलनाथ खनाल लगाएको संस्थागत गुटबन्दी आरोपको कडा शब्दमा प्रतिवाद गरे ।
नेपाल र खनाललाई लक्ष्यित गर्दै ओलीले आफूलाई फर्कीफर्की पुरानो पदमा जान इच्छुक नरहेको उल्लेख गरे।

खनाल र नेपाल फेरि अध्यक्ष बन्न खोजेको तर्फ उनको संकेत थियो । नेता नेपाल फेरि अध्यक्षका आकांक्षी देखिएको तर्फ उनले व्यंग्य गरे। ‘मलाई फर्कीफर्की पुरानो पदमा जानु छैन। त्यसैले गुटबन्दी गरिरहनु पनि छैन। पद दिएको बेला अनुभव हासिल गरिरहने, कामको लागि अर्को कार्यकाल चाहिनेर ?’ अध्यक्ष ओलीको भनाइ उदृत गर्दै एमाले नेता विष्णु रिमालले भनेका छन् ।

बिहीबारको केन्द्रीय कमिटी बैठकमा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले पार्टीभित्र अध्यक्ष ओलीबाटै संस्थागत गुटबन्दी भएको आरोप लगाएका थिए।


  •  
  •  
  •