काठमाडौं २७ चैत (ओएनएस) : पोलिटब्युरो बैठक नसकिदै नेकपा एमालेको केन्द्रीय समितिको बैठक सुरु हुने भएको छ । केन्द्रीय समिति बैटक सार्ने विषयमा नेताहरुबीच कुरा नमिल्दा दुईटै बैठक एकै पटक गर्न लागिएको छ ।
दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय कमिटीको बैठकको सुरु हुने र साँझ पोलिटब्युरो बैठक सुरु हुनेछ । पूर्व निर्धारित कार्यतालिका अनुसार आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन माथि छलफल हुनेछ ।
पोलिटब्युरोको बैठक नसकिए पनि आज पार्टीको पूर्व निर्धारित केन्द्रीय कमिटीको बैठक बस्न लागेको एमालेका कार्यलय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । एक बर्षपछि बस्न लागेको बैठकमा पार्टीका विभाग गठन, जिम्मेवारी विभाजनका विषयमा पनि छलफल हुनेछ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीको प्रतिवेदन वितरण गरेपछि पुनःपोलिटब्युरोको बैठकले निरन्तरता पाउने श्रेष्ठले जानकारी दिनुभयो । पोलिटब्युरोको बैठक २३ गतेदेखि जारी छ । बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयन, पार्टीको भवन निर्माण, विधान संशोधन, केन्द्रीय निकायका प्रतिवेदनलगायत कार्यसूची छन् ।