ओलीमाथि खनियो नेपाल पक्ष, पार्टी होइन ‘गुट’ चलाएको आरोप

201
  •  
  •  
  •  

काठमाडौं २५ चैत ।
एमाले पोलिटब्युरो सदस्यहरूले अध्यक्ष केपी ओलीको आलोचना गरेका छन्। ओलीले पार्टी विधान र संस्थागत पद्धतिविपरीत गुट सञ्चालन गरेको उनीहरूले आरोप लगाएका छन्। नवौँ महाधिवेशनबाट पारित नीति र कार्यदिशा एकातिर र नेतृत्व अर्कातिर लागेको नेताहरूको आरोप छ।

बाधा अड्काउ प्रस्ताव विधानविपरीत

बाधा अड्काउ फुकाएर प्रदेश संगठन कमिटी गठन गर्ने प्रस्ताव विधानविपरीत भएको सदस्यहरूले धारणा राखेका छन्। विधानको कुनै धारा कार्यान्वयनमा समस्या आउँदा मात्रै बाधा अड्काउ फुकाउन सकिने भए पनि प्रदेश संगठन कमिटी गठनमा पद्धति मिच्न खोजिएको उनीहरूको आरोप छ।

‘धारा ७४ ले विधानको जुन धारा कार्यान्वयनमा बाधा पर्‍यो त्यसैमा अड्काउ फुकाउने व्यवस्था गरेको छ । तर, प्रदेश कमिटीकै व्यवस्था नभएको कुन धारा फुकाउने भन्ने स्पष्ट प्रस्ताव आएन,’ सदस्य बेदुराम भुसालले बैठकमा भने,‘बरु बाधा अड्काउबाट भन्दा तत्काल पदेन सदस्यहरूको प्रतिनिधि परिषद्बाट विधान संशोधन गरी कमिटी बनाउन सकिन्छ।’

११ सदस्य बोले, १७ बाँकी

पोलिटब्युरोको बुधबारको बैठकमा अध्यक्षको प्रतिवेदनमा ११ सदस्यले धारणा राखेका छन्। नाम टिपाएका २८ मध्ये १७ जनाले सुझाब राख्न बाँकी रहेको सचिव योगेश भट्टराईले जानकारी दिए। उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, पोलिटब्युरो सदस्यहरू प्रकाश ज्वाला, रघुजी पन्त, बेदुराम भुसाल, डा. विजय पौडेल, नागेन्द्र चौधरी, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, श्रीमाया थकाली र गोरखबहादुर बोगटीले अध्यक्षको प्रतिवेदनमा केन्द्रित रहेर धारणा राखेका हुन् । यीमध्ये बोगटी संस्थापननिकट र अन्य माधवकुमार नेपाल पक्षका हुन् । नेपालनिकट सबै सदस्यले अध्यक्षको कार्यशैलीको आलोचना गरेका थिए ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •