स्थायी कमिटी बैठकमा नेपाल गएनन्

135
  •  
  •  
  •  

काठमाडौं ९ चैत  । भ्रातृ संगठन युवा संघ नेपालको विवाद उत्कर्षमा पुगेका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमा बोलाएको स्थायी कमिटी बैठक नेता माधवकुमार नेपालले बहिष्कार गरेका छन्। अध्यक्ष ओलीले स्वास्थ्यको कारण देखाउँदै निवासमै बैठक बोलाएका थिए।
ओलीनिवासमा अनौपचारिक छलफलमा सहभागी हुने गरे पनि नेता नेपालले पहिलेदेखि नै औपचारिक बैठकमा भने सहभागी नहुने बताउँदै आएका थिए। त्यसैअनुसार आइतबारको बैठकमा उनी सहभागी नभएको नेपालनिकट स्रोतले बताएको छ।
स्थायी कमिटी सदस्य किरण गुरुङका अनुसार बैठकले कुनै निर्णय गरेको छैन। बैठकमा नेपाल पक्षका उपमहासचिव घनश्याम भुसालले पार्टीअध्यक्षको स्वास्थ्य अवस्था नराम्रो नभए बैठक नै नराख्न आग्रह गरेका थिए। उनले बैठक केन्द्रीय कार्यालयमै राख्नुपर्ने बताएका थिए।

‘आज अध्यक्षले निवासमा बैठक राख्नुहोला, भोलि जनसंगठनका अध्यक्षहरू र पर्सि जिल्ला अध्यक्षहरूले घरमै बैठक राख्न थाल्नेछन्,’ भुसालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘त्यसले पार्टी पद्धतिका लागि राम्रो काम गर्दैन। अध्यक्ष बिरामी हुनुहुन्छ भने त्यस्तो बेला बैठक नराख्दा राम्रो हुन्छ।’

बैठकमा नेपाल पक्षले अध्यक्षको स्वास्थ्यमा समस्या भए कार्यवाहक दिन सकिने बताएका थिए। आइतबारको बैठक सोमबार बिहान ११ बजे अध्यक्ष ओलीकै निवासमा बस्ने गरी स्थगित गरिएको छ।

स्थायी कमिटी सदस्य गुरुङले अध्यक्ष ओली चिकित्सकहरूको सल्लाहमा घरमै आराम गरिरहेको बताए। ‘रोगसँग लड्ने क्षमता कमजोर भएकाले ब्याक्टेरियाको संक्रमण हुन सक्ने भन्दै चिकित्सकले घरमै आराम गर्न सल्लाह दिएका छन्,’ गुरुङले भने।

बैठकमा अध्यक्ष ओलीले महासचिव ईश्वर पोखरेललाई कार्यविभाजन प्रस्ताव प्रस्तुत गर्न भनेपछि नेपाल पक्षले आपत्ति जनाएको थियो। यसअघि सचिवालयमा छलफल गरेर मात्रै कार्यविभाजनको प्रस्ताव ल्याउने निर्णय भएको र एउटा पनि बैठक नबसेको भन्दै उनीहरूले आपत्ति जनाएका थिए।

‘महासचिवले सचिवालयमा होमवर्क गरेर प्रस्ताव स्थायी कमिटीमा ल्याउने भन्ने निर्णय हो। तर, अहिलेसम्म त्यस विषयमा होमवर्क भएको छैन,’ सचिव योगेश भट्टराईले नागरिकसँग भने। विवादका कारण एमालेको महाधिवेशन भएको नौ महिना बितिसक्दा पनि कार्यविभाजन हुन सकेको छैन।

बैठकमा उपाध्यक्ष भीम रावलले युवा संघ नेपालमा देखिएको विवादमा पार्टीले हस्तक्षेप गर्नुपर्ने बताएका थिए। उनले अनुशासन आयोग र युवा फाँटको इन्चार्जले समेत स्थगित गर्न गरेका आग्रहलाई बेवास्ता गर्दै समानान्तर कार्यक्रम भएकोमा आपत्ति जनाएका थिए।

यसैबीच, युव संघ नेपालको संस्थापन पक्षले संगठनभित्र देखिएको ‘अनुशासनहीन’ गतिविधिबारे आवश्यक अनुसन्धान गर्न उपाध्यक्ष सूर्य ढकालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलले दिएको प्रतिवेदनका आधारमा संगठनको स्थायी कमिटीले कारबाही गर्ने महासचिव राजीव पहारीले बताए। नागरिकबाट


  •  
  •  
  •