काठमाडौं ५ मंसिर ।
एमाओवादी गठबन्धनमा रहेका मधेस केन्द्रित दलहरू संविधानका मुद्दामा कांग्रेस-एमालेसँग ‘सकारात्मक’ देखिएका छन्। एमालेसँग बिहीबार सिंहदरबारमा भएको बैठकमा मधेसी नेताहरूले संविधानका अधिकांश विषयमा एमाओवादीसँग भन्दा कांग्रेस-एमालेसँग निकट रहेको धारणा राखेका हुन्।
बैठकमा मधेसी नेताले संविधानका विषयवस्तुमा ‘चेक लिस्ट’ बनाएर तुलना गर्ने हो भने ७५ प्रतिशतभन्दा बढी विषय एमालेसँग मिल्ने भदै लचिलो धारणा राखेका थिए।
बैठकमा सहभागी तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले छलफल सकारात्मक भएको जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘एमालेले लचिलो भएर छलफलका लागि बोलाउनु आफैंमा सकारात्मक हो। एमाले नेताले खुला ढंगले कुरा राख्नुभयो, हामीले पनि राख्यौं।’
एमाले मुख्य सचेतक अग्नि खरेलका अनुसार बैठकमा ओलीले संविधानसभाबाट संविधान बनाउने मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। ‘कांग्रेस-एमालेको साझा धारणा प्रस्ताव हो, अन्तिम हैन। तपाईंहरूका गुनासा सम्बोधन हुन्छन्’, ओलीले भने, ‘दुईतिहाई बहुमत जुटाएर प्रस्ताव ल्याए भनेर तर्सिनु वा आत्तिनु जरुरी छैन। कम्प्रोमाइज पनि हुन्छ।’
ओलीले मधेसकेन्द्रित दलहरू र कांग्रेस-एमालेले अघिल्लो संविधानसभामा सहकार्य गरेको समेत स्मरण गराउँदै साझा धारणा परिमार्जन गर्न सकिने बताए। ‘एमाले नेताहरूले छलफल गरी साझा धारणा बनाएर जानसक्छौं भन्नुभो’, त्रिपाठीले भने, ‘संघीयता र निर्वाचनप्रणालीमा केही अन्तर छ, शासकीय स्वरूप, न्यायप्रणालीलगायत लोकतन्त्रका आधारभूत विषयमा हाम्रा समान धारणा छन् भन्नुभयो।’
संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले संविधान निर्माणका ७५ प्रतिशतभन्दा बढी विषयमा एमालेसमेतले ल्याएको साझा धारणा मधेसकेन्द्रित दलसँग पनि मिल्ने बताए।
बैठकमा फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारले आफू जीवनभर लोकतन्त्रका लागि लडेकाले लोकतान्त्रिक राजनीतिक प्रणाली बनाउनेबारे आफू कांग्रेस-एमालेसँग निकट रहेको बताएका थिए। ‘कांग्रेस-एमालेले बहुमतको धेरै दम्भ देखाउनुभयो।
साझा धारणाबारे संघीयता र निर्वाचनप्रणालीबारे हाम्रो पूरै विमति छ’, उनले भने, ‘साझा धारणा अस्वीकार गरिसकेका छौं। त्यसैलाई अघि बढाउने हो भनेचाहिँ सहमति हुन सक्दैन।’
बैठकमा एमाले वरिष्ठ नेता माधव नेपाल, तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका मुख्य सचेतक डा. शिवजी यादव, सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण पनि सहभागी थिए। अन्नपूर्णपोष्टबाट