एमालेले मापदण्ड बनायो, मन्त्री छान्‍न सकेन

139
  •  
  •  
  •  

काठमाडौं १८ कात्तिक ।
एमालेले सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री केपी ओलीलाई दिएको छ। पार्टीको मंगलबार अबेर सम्पन्न स्थायी समिति बैठकले मन्त्री बनाउनका लागि आवश्यक मापदण्डसमेत पारित गरेको छ। प्रचार विभाग प्रमुख तथा पार्टी सचिव योगेश भट्टराईका अनुसार पार्टीका वरिष्ठ नेताहरूसँग समेत परामर्श गरेर प्रधानमन्त्री ओलीले बुधबार मन्त्री चयन गर्नेछन्।

बैठकले मन्त्री बनाउँदा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई प्राथमिकता दिनुपर्ने, आदिवासी जनजाति, दलित र महिलाको समानुपतिक प्रतिनिधित्व हुनुपर्ने, संविधानअनुसार विभाजन गरिएका सात प्रदेशको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने मापदण्ड तयार गरेको हो।अन्य दलहरूलाई पनि मिलाउनुपर्ने भएकाले एमालेले आठ मन्त्रालयमा चित्त बुझाउने भएको छ।

यसअघि एमालेले लिने भनेको स्थानीय विकास मन्त्रालयसमेत छाडेको छ।अब एमालेले रक्षा, अर्थ, स्वास्थ्य तथा जनसंख्या, संस्कृति तथा पर्यटन, सहरी विकास, सञ्चार, कानुन र उद्योग मन्त्रालयमा मात्र लिने भएको छ।

एमालेले मंगलबार बेलुकासम्म मन्त्रीका नाम भने टुंगो लगाएको छैन। स्थायी समितिले नेताहरूको परामर्शमा भन्ने भाषा प्रयोग गरेर निर्णय गर्दा भने स्थायी समितिका केही नेताले आपत्ति जनाएको स्रोतले बतायो।

उनीहरूले कि सीधै प्रधानमन्त्रीलाई अधिकार दिऊँ कि मन्त्रीका नाम फेरि स्थायी समितिको बैठकबाट निर्णय गरौं भनेर प्रस्ताव गरेको एक सहभागीले बताए।
उपमहासचिव घनश्याम भुसालले विगत एक वर्षदेखि पार्टीमा गुटका आधारमा निर्णय हुँदै आएकाले मन्त्री चयनमा पनि त्यसो भए आफूले सार्वजनिक रूपमा विरोध गर्ने चेतावनी दिएका थिए।

जबाफमा अध्यक्ष ओलीले त्यसो गरे आफू अनुशानको कारबाही गर्न बाध्य हुने चेतावनी दिएका थिए। त्यसपछि भुसालले ‘जबाफी कारबाही त कसले कसलाई गर्छ’ भनेर त्यसको प्रतिवाद गरेका थिए।

ओलीको उक्त भनाइको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, योगेश भट्टराईलगायतले पनि प्रतिवाद गर्दा बैठकमा तनाव भएको एक नेताले बताए। त्यसपछि ओलीले तपाईंहरूलाई चित्त बुझ्ने गरी गर्छु भनेर थामथुम पार्ने प्रयास गरेका थिए।

त्यसपछि सचिव भट्टराईले विगतमा पनि राम्रै गर्छु भन्नुभएको थियो भएन भनेर प्रतिवाद गरेका थिए।
अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •