एमाले–माओवादी एकताका दुई विकल्प

368
  •  
  •  
  •  

काठमाडौँ, ७ पुस (ओएनएस) : नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताका लागि मुख्य विषय नेताहरुको व्यवस्थापन देखिएको छ । नेताहरुको व्यवस्थापन भएपछि अन्य विषय मिल्दै जानेमा दुवै पार्टीका नेताहरुको समान बुझाइ छ । ‘पद छोड्ने कुरा कुनै पनि नेताहरुबाट आएको छैन । मुख्य विषय भनेकै नेताहरुको व्यवस्थापन हुनेछ’ एक नेताले ओएनएसन्यूजसँग भने ।

उच्च स्रोतका अनुसार एकताका लागि मुख्य मानिएको नेताहरुको व्यवस्थापनमा दुई विकल्प अघि सारिएको छ । पहिलो विकल्पमा संयोजक र सहसंयोजक बनाएर पार्टी हाक्ने छ । एमालेले प्रधानमन्त्री र संयोजक एमालेबाट हुनुपर्ने र सहसंयोजकले पार्टीलाई चलाउने प्रस्ताव अघि सारेको छ । माओवादीले भने प्रधानमन्त्री र पार्टी संयोजक फरक–फरक पार्टीबाट हुनुपर्ने तर्क गरेको छ ।

अर्को विकल्पको रुपमा अध्यक्षमण्डल बनाउने र शीर्ष नेताहरुलाई सदस्य बनाउने प्रस्ताव अघि सारिएको छ । सदस्यले आलोपालो प्रणालीमा बैठकको अध्यक्षता गर्नेछन् ।

समिति बैठक बस्दै
शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । दुवै पार्टीबीच आन्तरिक छलफलपछि संयोजन समिति बैठक बस्नेछ । बैठकअघि एमाले स्थायी समिति बैठक र माओवादीको पनि बैठक बस्नेछ ।

बैठकमा सरकार गठन र पार्टी एकताका प्रक्रियाको विषयमा छलफल हुने समितिका एक सदस्यले ओएनएसन्यूजलाई जानकारी दिए ।

 


  •  
  •  
  •