एमाले–मधेसवादी नेता फोटो सेसन

113
  •  
  •  
  •  

काठमाडौं २७ पुस ।
फोटो लिनुस् न एउटा,’ एमाले नेता माधवकुमार नेपाल तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवलाई पत्रकारतिर तानेर भन्दै थिए, ‘तपाईंलाई मधेसी मोर्चाले कारबाही गर्दैन, फोटो त सँगै खिचौं।’

नेपाललाई साथ दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले त पनि ‘ह्यान्डसेक नै गरौं ह्यान्डसेक’ भन्दै यादवसँग हात मिलाए। हात मिलाउँदै गर्दा यादवले ओलीलाई भने, ‘तपार्इंले हामीलाई कहाँ पुर्यााउनुहुन्छ थाहा हुँदैन। उत्तर प्रदेश पुर्याीउनुहुन्छ कि बिहार?’

संविधानसभा भवनमा शनिबार बेलुका एमालेसँग छलफल र बैठकमा नबस्ने निर्णय गरेका मधेसी मोर्चासम्बद्ध दलका नेतासँग एमालेका प्रमुख नेताहरूसँगै फोटो खिच्नमा व्यस्त थिए। मधेसवादी दलका नेता भने सकेसम्म सँगै फोटो नलिनलाई पन्छिन खोज्दै थिए।
ओलीले मन्द मुस्कानसाथ मधेसवादी दलका नेतासँग पालैपालो फोटो खिचाएका थिए।

एमाले नेताहरूलाई मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले पनि साथ दिए। उनले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई देखाउँदै सँगै फोटो खिच्न एमाले नेताहरूसँग भनेका थिए। महतो सकेसम्म सँगै फोटो नखिच्ने मुडमा देखिन्थे। तर, एमाले नेताहरूको बीचमा क्यामरामा कैद भइहाले। उनले मोर्चाको निर्णय नभएसम्म एमालेसँग वार्तामा नबस्ने अडानमा रहेको दोहोर्या ए। ‘मोर्चाको निर्णय हो,’ महतोले भने, ‘मोर्चाको निर्णयबमोजिम एमाले अघि सरेमात्रै बस्छौं, होइन भने सँगै वार्तामा बसिँदैन।’

केही दिनअघि बालुवाटारमा बसेको प्रमुख राजनीतिक दलको बैठकमा सद्भावना अध्यक्ष महतोले मधेसका कुनै पनि जिल्ला पहाडमा जोड्न नहुने धारणा राख्दा एमाले अध्यक्ष ओलीले सम्म जमिनजति सबै लिने भए युपी र बिहार पनि छ भनेपछि आक्रोशित हुँदै मधेसवादी दलका नेताहरू बाहिरिएका थिए।
त्यसलगत्तै बसेको मधेसी मोर्चाको बैठकले एमाले अध्यक्ष ओलीले मधेस र मधेसी जनताको अपमान गरेको भन्दै माफी नमागेसम्म एमाले सहभागी बैठकमा नबस्ने निर्णय गरेको थियो।
एमाले अध्यक्ष ओलीले भने आफू बोल्दाबोल्दै बाहिरिएर आफ्नो अपमान गरेकाले मधेसवादी दलले नै माफी माग्नुपर्ने बताउँदै आएका छन्।
नागरिकबाट


  •  
  •  
  •