कलेजलाई सम्बन्धन दिलाउन संसदै रोक्ने चेतावनी

63
  •  
  •  
  •  

काठमाडौं २ पुस ।
माघ ८ भित्र संविधान जारी गर्न भ्याइनभ्याइ हुनुपर्ने बेला नेकपा (एमाले) का सभासद भने प्रस्तावित मनमोहन मेडिकल कलेजलाई सम्बन्धन दिलाउने अभियानमा लागिपरेका छन्। उनीहरूले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिलाउन संसदै रोक्ने चेतावनी दिएका छन्।

एमालेका १ सय ४४ जना सभासदले ‘सात दिनभित्र सम्बन्धन नदिए संसद रोक्ने’ चेतावनीसहितको ज्ञापनपत्र मंगलबार सभामुख सुवास नेम्वाङलाई बुझाएका हुन्। जसमा एमालेका प्रमुख नेताबाहेक अधिकांश सभासदको हस्ताक्षर छ। दुई हजार चार सय सेयरधनी रहेको कलेजमा अधिकांश सभासद एवं तिनका आफन्तको लगानी छ।
सरकारले चिकित्सा शिक्षा नीति नबन्दासम्म सम्बन्धन रोकेको अवस्थामा संविधानसभाका तर्फबाट दबाब दिने उद्देश्यले यस्ता हस्ताक्षर अभियान चलाइएको हो। एमाले सभासदहरू राजेन्द्र पाण्डे र भरतमोहन अधिकारी नेतृत्वको टोलीले हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाएका थिए।

सभासदहरूले प्रधानमन्त्रीकै निर्देशनमा सम्बन्धन रोकिएको भन्दै सात दिनभित्रै यससम्बन्धी निर्णय गराउन अनुरोध गरेका छन्। ‘हाम्रो अनुरोधलाई बेवास्ता गरिए सभासदको तर्फबाट संविधानसभा बैठक रोक्नेसम्म कडा कदम चाल्न बाध्य हुनेछौं,’ ज्ञापनपत्रमा उल्लेख छ।
टिचिङ अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको अनशनको माग पूरा गर्ने क्रममा सरकारले चिकित्सा शिक्षा नीति नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने सहमति गरेको थियो।

यसअघि २०७० कात्तिकमा पनि मनमोहन मेडिकलका सञ्चालकहरू जबर्जस्ती सम्बन्धन खुलाउन लागेका थिए। उनीहरूले यसबीच अख्तियारमा समेत निवेदन हालेपछि अख्तियारले कानुनअनुसार टुंग्याउन निर्देशन दिएको थियो। त्यही निर्देशनका आधारमा एक महिनाअघि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) लाई मनमोहनलाई सम्बन्धन दिन निर्देशन दिएको थियो।

महिला बालबालिका तथा समाज कल्याण समितिअन्तर्गतको शिक्षा उपसमिति सदस्यसमेत रहेका पाण्डे उक्त कलेजका अध्यक्ष हुन्।
ज्ञापनपत्रमा शिक्षा मन्त्रालयबाट मनसायपत्र लिई २०७० मंसिरमै सबै पूर्वाधार पूरा गरिसकेको अवस्थामा विभिन्न निकायले सम्बन्धन नदिएको प्रसंग उल्लेख गरिएको छ। प्रधानमन्त्री आफैं सकारात्मक नहुनुले सम्बन्धन रोकिएको पनि ज्ञापनपत्रमा उल्लेख छ। नागरिकबाट


  •  
  •  
  •