सरकार टिकाउने कि कमल थापा ?

255
  •  
  •  
  •  

kamal thapa oliकाठमाडौं १७ कात्तिक (ओएनएस) : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री चयन भएको एक महिना बित्न लाग्दा पनि सरकारले पूर्णता पाउन नसकेको कुरा एमालेभित्रै आलोचनाको विषय बन्न थालेको छ । सत्तारूढ दोस्रो ठूलो दल एकीकृत नेकपा माओवादीबाट सबैजसो मन्त्री नियुक्त भइसक्दा पनि सरकारको नेतृत्व गरिरहेको एमालेबाटै मन्त्री छनोट हुन सकेको छैन ।

एमालेका गुटउपगुट अनि ओलीनिकटकै नेताहरूबीचको हानथाप त छँदै छ । अहिले ओलीका लागि मन्त्रिपरिषद विस्तारको गाँठो कमल थापाले अड्काइदिएका छन् । उनले स्थानीय विकास मन्त्रालय नपाएसम्म सरकार विस्तार हुनै नदिने बरु सरकार नै छाडिदिने चेतावनी दिएका छन् ।

स्रोतअनुसार, थापाले सरकार बन्नुअघि नै आफ्नो पार्टीलाई स्थानीय विकास मन्त्रालय दिने समझदारी भएको दावी गर्दै आएका छन् । तर, ओलीले भने यसबारे पार्टीमा कुनै जानकारी नदिएको नेताहरू बताउँछन् । ठूलो बजेट भएका, प्रत्यक्ष जनसरोकारका आकर्षक मन्त्रालयहरू सबै अन्य दललाई दिएको भन्दै एमाले नेताहरूबाट ओलीको आलोचनाच भइरहेको छ । त्यसैले तीन दिनदेखि भइरहेका विभिन्न छलफल र स्थायी समितिका बैठकहरू समेत निष्फल हुँदै आएका छन् ।

मन्त्री चयन र मन्त्रालय बाँडफाँटप्रति असन्तुष्ट एमालेका एक केन्द्रीय पदाधिकारी भन्छन्, ‘कमल थापालाई टिकाउने कि सरकार टिकाउने भन्ने अवस्था आइसक्यो । सबै राम्रा मन्त्रालय अरुलाई दिएर राष्ट्रपति र प्रधानमन्त्रीले मात्र जनताका पक्षमा के काम गर्न सकिन्छ र प्रधानमन्त्रीले पनि आफ्नो निर्णय कसरी लागू गराउन सक्छन् ?’

स्थानिय विकास मन्त्रालय एमाले आफैले राख्ने बताइरहँदा राप्रपा नेपालले भने उक्त मन्त्रालय आफैले पाउनुपर्ने अडान राखिरहेको छ । स्थानीय विकास मन्त्रालय नपाए सरकारबाट बाहिरने राप्रपा नेपालका अध्यक्ष कमल थापाले यसअघि नै बताइसकेका छन् । ६ महिनामा स्थानीय निकायको निर्वाचन हुने भएकोले त्यसलाई ध्यानमा राखेर दुवै पार्टीको उक्त मन्त्रालयमा दावी छ ।

यस्तै, स्वास्थ्य र श्रम मन्त्रालयमा तराई मधेस फोरम लोकतान्त्रिकले दावी गरिरहेको छ भने एमाले पनि स्वास्थ्य आफ्नै भागमा राख्न चाहन्छ ।

मन्त्रिपरिषद् बिस्तारमा ओलीलाई सकस, कारण तीन


  •  
  •  
  •