काठमाडौं, २३ कात्तिक (ओएनएस): सत्तारुढ काँग्रेस–एमालेले एकीकृत नेकपा माओबादी लगायतका बिपक्षी दलबिरुद्ध लचक नहुने संकेत देखाएपछि राजनीतिक संकट थप बढ्ने संकेत देखिएको छ । काँग्रेस–एमालेले आइतबार काठमाडौंको पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै माओबादीलाई पेलेरै अघि बढ्ने रणनीति लिएपछि राजनीतिक संकट बढ्ने भएको हो ।
एमाओवादीसहितका २२ दलले आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला काँग्रेस–एमालेले माओबादीले धम्काउने बानी छाड्नु पर्ने बताए । पत्रकार सम्मलेनमा प्रधानमन्त्रि सुशील कोइरालाले भने ‘प्रचण्डको बानी नै थर्काउने रहेछ, मैले अस्तिको बैठकमा बाहिर गएर थर्काउने काम बन्द गनृुहोस्, बहस गरौ भनेको छु । ’
कोइरालाले लोकतन्त्रलाई स्वीकार गरिसकेपछि धाक–धम्कीले काम नचल्ने भन्दैसहमतिमा आउन माओबादीलाई आग्रह गरे ।
कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले प्रचण्डले जनतालाई सस्ता भाषण गरेर जनतालाई उत्तेजनामा ल्याएको आरोप लगाए । उनले आफूहरूले माओबादीलाई बाइपास गरेको नभई एकीकृत माओवादी नै प्रक्रियाबाट भागेको आरोप लगाए । ओलीले सभा गर्न छाडेर टेबुलमा बसेर कुरा गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै अधिकांश बक्ताहरुले आफूहरूले तयार पारेको नौ बुँदे प्रस्ताव संविधानसभामा लैजान पाउनुपर्ने माग गरेका छन् ।
पहिचान पक्षधरको मोर्चा भन्दै एकीकृत माओवादी र मधेशवादी सहितका २२ दलिय मोर्चाले केहीदिन अघिदेखि विभिन्न ठाउँमा जनसभा गर्दे सहमतिको नाममा सत्तापक्षीय दललाई चेतावनी दिदै आएको छ ।
त्यसकै प्रतिकार गर्ने शैलीमा यटको जवाफ पत्थर भनेजस्तो आज सत्तापक्षीय दलले राजधानीमै पत्रकार सम्मेलन गरि एकीकृत माओवादीको डर धम्कीबाट नतर्सिने चेतावनी कै भाषामा जवाफ फर्काए । काङ्ग्रेस र एमालेले एक साताअघि संविधानका आधारभुत बिषयमा साझा धारणा प्रस्तुत गरेपछि विभाजित दलहरु सभा सम्मेलन गरेरै आरोप प्रत्यारोपमा उत्रीएका हुन् ।
स्वतन्त्र सभासद्ले पनि सहमति जनाएका छन् । साझा प्रस्तावमा समर्थन जनाउने सभासद्को सङख्या ४ सय भन्दा बढी अर्थात दुई तिहाई बहुमत पुगिसकेको छ । त्यसैले प्रस्तावमा हस्ताक्षर गर्ने दलले संविधानसभामा लगेर छलफल गर्नुपर्ने माग गरिरहेका छन् भने एकीकृत माओवादी लगायतका दल पहिचान र सहमतिको बिन बनाउदै संविधानसभामा जानबाट रोक्ने दाउमा छन् ।
सात प्रदेशको प्रस्ताव संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा काँग्रेस–एमालेसहितका सत्तारुढले पेश गरेपछि माओबादी लगायत बिपक्षी दलहरुले बिरोध जनाउँदै आएका छन् । प्रस्तावमा कुनै सहमति हुन नसकेपछि एमओबादी अध्यक्ष पूर्वी जिल्लाको भ्रमणमा छन् । भ्रमणको दौरान प्रचण्डले सत्तारुढ दलबिरुद्ध आक्रोसित भाषण गर्दै आइरहेका छन् ।