काठमाडौं १३ कात्तिक (ओएनएस) : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले संघीयतासहित संविधानका अन्तर्वस्तुमा आज समान धारणा बनाउने भएका छन् । राज्यपुनर्संरचनाको आधारभूत विषयमा एकमत दुईदलबीच संघियताको संख्यामा केही फरकमत रहेपनि आजको छलफलबाट समान धारणा बनाउने तयारीमा छन् । त्यसका लागि छलफल हुँदैछ । एमालेले बढीमा ६ प्रदेशको प्रस्ताव राखेको छ कांग्रेस ७ मा जान सकिनेमा खुला रहेको छ । बुधबार भएको छलफलमा साझा पहिचानसहितको सात प्रदेशमा राज्यको संघीय पुनःसंरचना गर्नेबारे समझदारी भएको हो।
संघीयता, शासकीय स्वरुप, न्यायप्रणाली र निर्वाचन प्रणालीसहितका विषयलाई अन्तिम रूप दिने एमाले महासचिव ईश्वर पोखरेलले बताए । ‘दुई दलीय कार्यदलले सात प्रदेशसहित संविधानका अन्तर्वस्तुमा अवधारणा प्रस्तुत गरेको छ, त्यसको सेरोफेरोमा रहेर आजबिहान फाइनल गर्नेछौं’ पोखरेलले भने ।
आज बिहान ९ बजे बालुवाटारमै दुई दलको बैठक डाकिएको छ। दुईदलबीचको सहमतिका आधमारमा एकीकृत माओवादीसँग वर्ता हुनेछ । कांग्रेस–एमाले ‘सुधारिएको संसदीय व्यवस्थाको सहमतिनजिक रहेका छन् । एमालेले कार्यकारी प्रधानमन्त्रीको अडान छाडेको छ । संविधानसभा निर्वाचनको घोषणापत्रमा कांग्रेसले ७ प्रदेशको अवधारणा ल्याएको थियो। एमाओवादी १० प्रदेशको अडानमा छ ।