काठमाडौं २५ असार (ओएनएस) : नेकपा एमाले विधान पारित गर्न मध्यमार्गी उपायको खोजी सुरु भएको छ । पदाधिकारी संख्या १५ नै कायम राखेर अरु थप सृजना गर्नेगरि पनि छलफल भइरहेको छ । तर सहमति भइसकेको छैन । विधान प्रस्तावलाई दफावार रुपमा छलफलमा लैजाने तयारी गरिएको छ । ध्वनी मतका आधारमा पारित गर्नेगरि छलफलमा लैजाने तयारी छ । सचिव युवराज ज्ञवालीले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा १५ जनासम्म पदाधिकारी बनाउने प्रस्तावलाई अधिकांश टोलीबाट घटाउन सुझाव दिएपछि संसोधन प्रस्ताव पारित भएको छैन । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली समुहले पनि विरोध जनाएको छ ।
समुहबाट आएका सुझावलाई आधार बनाएर अध्यक्षमण्डल र शीर्ष नेताबीच बिहान सहमति खोजेपछि बन्दसत्रमा पेस गरिनेछ । बिहान ९ बजेपछि सुरु हुने बन्दसत्रमा सहमति सहितको ठोस प्रस्ताव लैजाने प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै केन्द्रीय आयोगका प्रतिवेदनलाई पनि पारित गर्न बाँकी छ । नेकपा एमालेको जारी नवौ महाधिवेसनमा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । आज विधान संसोधनको प्रस्ताव पारित भएपछि निर्वाचन प्रक्रिया अगाडी बडाइएनेछ ।
ती प्रतिवेदन पारित गरेपछि आज अपराह्न निर्वाचनको प्रक्रिया अघि बढ्ने ज्ञवालीले बताए । विधानले अन्तिम रूप नपाउँदा उम्मेदवारीको समूह बन्न सकेको छैन । असार १९ गतेदेखि भृकुटीमण्डपमा जारी महाधिवेशन आज सम्पन्न भनिए पनि निर्वाचनका कारण लम्बिने भएको छ । महाधिवेशनको बन्दसत्रले हिजो अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।