काठमाडौँ, २४ असार (ओएनएस) एमालेको जारी नवौं महाविधेशनमा अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पारित भएको छ ।
बन्दसत्रले अध्यक्षको प्रतिवेदन सुझाव सहित पारित गरेको हो ।
राजनीतिक प्रतिवेदन माथि १९ वटा समुहमा दुईदिनसम्म भएको छलफलमा प्रतिनिधिहरुबाट आएका राम्रा सुझावलाई सम्बोधन गर्ने अध्यक्ष खनालको प्रतिबद्धता पछि प्रतिवेदन पारित भएको हो ।
नेतृत्व तेस्रो पुस्तामा लैजाऔँ
अध्यक्ष खनालले पार्टीमा गुटबन्दी हावी भएको बताएका छन् । बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष खनालले अस्वस्थ प्रतिश्पर्धामा उत्रिन नेताहरुलाई सुझाव समेत दिएका छन् । ‘म तेस्रो पुस्तालाई नेतृत्व पुस्तान्तरणकोे पक्षमा छु, उनले भने,‘अब नेतृत्व दोस्रो पुस्ताबाट तेस्रोमा जानुपर्छ ।’ उनले एमालेमा नेतृत्व पुस्तान्तरण हुँदै आएको भन्दै यो क्रमले निरन्तरता पाउनुपर्ने बताए ।
महाविधेशनबाट नेतृत्व चयन गर्ने जिम्मा महाधिवेशन प्रतिनिधिलाई दिएको उल्लेख गर्दै गरे । अध्यक्षको प्रतिवेदन पारितभएसँगै सांगठनिक प्रतिवेदनलागयतका सबै प्रतिवेदन पारित भएका छन् ।
प्रतिवेदन पारित भएसँगै अध्यक्षका प्रत्यासीद्वय माधव नेपाल र केपी ओलीले आ–आफ्नो गुटको भेला गरेका छन् ।
ओली पक्षले राजधानीको प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेला गरेको छ भने नेपाल पक्षले पनि छुट्टै भेला गरेको छ । बुधवारबाट चुनावी प्रक्रिया सुरु हुनेभएकाले आफ्नो पक्षमा प्रतिनिधिहरु पार्न सबैपक्ष लागिपरेको छ ।
खनाल दुवै पक्षको ‘हटकेक’
महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व चयन हुने पक्का भएपछि कसैको पनि समर्थनमा मुख नखोलेका अध्यक्ष झलनाथ खनाललाई एकअर्काे पक्षले आफ्नो पक्षमा रहेको बताउन थालेका छन् ।
सोमबार नेपाल समूहले खनालले आफ्नो पक्षमा रहेको जानकारी दिएको जवाफमा मंगलबार अर्का नेता केपी ओलीले पत्रकार सम्मेलननै गरेर खनाल आफ्नो पक्षमा रहेको दाबी गरे ।
नेपाल समूह र ओली समूह प्यानलै बनाएर निर्वाचनमा जाने अन्तिम तयारी गरिरहेका छन् । दुबै पक्ष हारिन्छकी भन्ने डरमा रहेकाले निर्णायक देखिएका खनाललाई आ–आफ्नो पक्षमा रहेको देखाउन होडवाजी नै चलेको छ । यद्यपी खनाल निकट सबै नेताहरु नेपाल समूहमा सक्रिय छन् ।
‘राजनीतिक र बैचारिक रुपमा खनाल र नपालको समान बिचार हो, खनाल निटक मानिने पूर्व पोलिटव्युरो सदस्यले भने–अध्यक्ष नेपाल समूहको समर्थन मै हो ।’
अध्यक्षका प्रत्यासी ओलीले माधव नेपाल र झलनाथ खनालको समिकरणप्रति विश्वास नभएको तर्क गर्दैे खनालले आफूसँग पटक–पटक स्वास्थ्यले साथ दिन्छ भने आफ्नो समर्थन रहने बताएको दाबी गरे ।
ओलीले खनालले नेतृत्व हस्तान्तरणका लागि आफूलाई अध्यक्षले पटक पटक वचन दिएको जिकिर गर्दै खनाल र नेपालको समीकरण बनेमा सहमतिका साथ नेतृत्व हस्तान्तरणका लागि मात्रै बनेको हुन सक्ने बताए ।
ओली समूह विधान संशोधनको विपक्षमा
नवौं महाधिवेशनमा विधान संशोधनको विषयलाई लिएर विवाद भएको छ । अध्यक्षका प्रत्यासी केपी ओली समुह विधान संशोधनको विपक्षमा देखिएको छ । पाँच उपाध्यक्ष र सचिव अनावश्यक भएको भन्दै ओली पक्षधर विधान संशोधनको विपक्षमा देखिएको हो ।
स्रोतका अनुसार ओली पक्षलाई पाँच उपाध्यक्ष र सचिवको व्यवस्थापन गर्न समस्या देखिएपछि विधान संशोधनको विपक्षमा उभिएको हो । नेपाल पक्षले भने विधान संशोधन हुन नदिए अहिले कै व्यवस्था गर्नुपर्ने बताएको छ । नेपाल पक्षधर नेता पशुपति चौलागाईले भने, ‘उहाँहरुलाई थप पदको व्यवस्थापन गर्न समस्या भएको भन्ने कुरा सुनिएको छ । विधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
एमालेले आठौं महाधिवेशनबाट बहुपदीय प्रणालीमा जाने भन्दै एक अध्यक्ष, तीन उपाध्यक्ष, तीन सचिव, एक महासचिवको व्यवस्था गरेको थियो । नवौं महाधिवेशनमा आइपुग्दा अध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव पद कायम गर्ने गर्ने गरी बन्द सत्रमा विधान संशोधन प्रस्ताव प्रस्तुत भएको छ । निर्णय गरेको थियो ।
मेरो विचारमा पार्टी एकताबद्ध : नेपाल
एमालेका अध्यक्षका प्रत्यासी माधव नेपालले आफूले लिएको विचारमा पार्टी एकताबद्ध भएको बताएका छन् ।
मंगलवार महाधिवेशनस्थल भृकृटी मण्डपमा पत्रकार सम्मेलन गरी नेता नेपालले आफ्नो विचारलाई महाधिवेशनको बन्दसत्रले पारित गरेको उल्लेख गर्दै आफ्नो विचारमा पार्टी एकताबद्ध भएको बताएका हुन् ।
महाधिवेशनले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन पारित गरेपछि नेपालले आफ्नो विचारमा पार्टी एकताबद्ध भएको बताएका हुन् ।
उनले अध्यक्ष खनाल र आफ्नो विचार एउटै भएको दाबी गर्दै नवौं महाविधेशनमा आफ्नो पक्षको आरायदायि जित हुने दाबी गरे । उनले अब नेतृत्व हस्तान्तर नभएर पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
कृष्णगोपाल फर्कीए
केही दिन अगाडिमात्र ओली खेमाबाट नेपाल खेमामा पुगेका एमाले नेता कृष्ण गोपाल फेरी पुरौ घर फर्कीएका छन् ।
कुनैबेला ओलका प्रवक्ता जस्ता रहेका कृष्णगोपाल संविधानसभा उप निर्वाचनमा माधव नेपालले उमेदवारको प्रस्ताव गरेपछि नेपाल समूहमा आएका थिए । कृष्णगोपाल आज केप ओलीको गाडी चढेर महाधिवेशन पुगेका थिए ।