एमालेमा विवाद चर्कियो

93
  •  
  •  
  •  

काठमाडौं १४ असार । राष्ट्रिय खेलुकद परिषदको सदस्यसचिव नियुक्ति प्रकरणमा अध्यक्ष केपी ओलीले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई राजिनामाको दबाब दिएपछि एमालेभित्र विवाद चर्किएको छ । बरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालले मन्त्री पौडेललाई दवाबमा परेर राजिनामा नदिन आग्रह गरेपछि एमालेमा विवाद चर्किएको हो ।

उनीहरुले अध्यक्ष ओली र प्रधानमन्त्री समेतलाई मन्त्री नटहाउन सचेत गराएका छन् । मन्त्री पौडेलले पार्टीको सिफारिस र छलफलबिनै परिषदको सदस्यसचिवमा विवादास्पद व्यक्ति केशव विष्टलाई नियुक्ति गरेपछि अध्यक्ष ओलीले निर्णय उल्टाउन आग्रह गरेका थिए । निर्णय नउल्टाए आफै राजिनामा दिन ओलीले मन्त्री पौडेललाई दबाब दिएका थिए । पौडेलले गत साता विष्टलाई सदस्यसचिव नियुक्त गरेका थिए ।

अध्यक्ष ओलीले मन्त्री पौडेललाई राजिनामा दिन तीव्र दवाब दिएपछि आइतबार नेता नेपाल पक्षधर नेताहरुको नया बानेश्वरमा भेला भएको थियो । नेता नेपाल सहित झण्डै ४० जना केन्दि्रय सदस्यहरु सहभागी भेलाले मन्त्री पौडेलले राजिनामा दिन नहुने निष्कर्ष निकालेको थियो । भेलामा मन्त्री पौडेलसमेतन सहभागी थिए । बालुवाटारमा चार पार्टीको बैठकमा सहभागी भएका कारण बानेश्वरको भेलामा बरिष्ठ नेता खनाल भने उपस्थित थिएनन्् ।

‘पार्टी भित्र कुनै संस्थागत छलफल भएको छैन । पार्टीले कुनै निर्णय गरेको छैन, त्यसैले कुनै व्यक्तिले भनेको भरमा राजिनामा दिनु हुदैन भन्ने हाम्राे सुझाव छ’ भेलामा सहभागी एमाले उपमहासचिव घनश्याम भुसालले भने,’यदी राजिनामा गराइयो भने यसले पार्टीभित्र राम्राे अवस्थ्ाा आउने छैन ।’ उनले यो प्रकरणले पार्टी भित्रको आन्तरिक एकतालाई खलबल्याउन सक्ने बताए । बरिष्ठ नेता नेपालले अध्यक्ष ओली समक्ष पार्टी भित्रको आन्तरिक समिकरण अनुसार काम गर्न सचेत गराएको स्रोतले बताएको छ । नेपालले पार्टीभित्रको अवस्थाबारे प्रधानमन्त्रीलाई पनि जानकारी दिएका छन् ।

भावी राजनीतिक परिदृश्य समेतलाई विचार गरेर पार्टी भित्रको आन्तरिक एकता मिलाएर जान नेपाल पक्षले ओलीलाई आग्रह गरेको छ । संविधान बनेपछिको सरकार निर्माणका बेला पार्टी भित्रको समिकरणको ठूलो अर्थ हुने भएकाले यसमा ख्याल गर्न नेपाल पक्षले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको छ । मन्त्री पौडेल गत बर्ष भएको महाधिवेशनमा नेपालको प्यानलबाट केन्द्रीय सदस्य उठेका थिए । उनी बरिष्ठ नेता खनालका निकट व्यक्ति हुन् । खनाल प्रधानमन्त्री हुदा मन्त्री पौडेल उनका प्रमुख राजनीतिक सल्लाहकार थिए ।

मन्त्री पौडेलले आफूले कुनै गल्ती काम नगरेकाले राजिनामा नदिने बताए । ‘मैले मन्त्रालय अन्तर्गतकै कार्यक्षेत्रमा पर्ने काम गरेको हुँ’ पौडेलले कान्तिपुरसँग भने,’नियमसंगत रुपमा पार्टर्ीकै र खेलकुद क्षेत्रकै व्यक्तिलाई नियुक्ति गरेको हुँ ।’ उनले नियमसंगत रुपमा भएको सदस्यसचिव विष्टको नियुक्ति फिर्ता हुन नसक्ने स्पष्ट पारे ।

निकटका व्यक्तिहरुलाई नियुक्ति नगरिदिएकाले अध्यक्ष ओली समूहले मन्त्रीलाई नै हटाउन खोजेको निष्कर्ष नेपाल समूहको छ । अध्यक्ष ओलीसंग निकट एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले पार्टी पद्धतिअनुसार मन्त्री नचलेकाले राजिनामा दिनुपर्नेसम्मको कुरा उठेको बताए । ‘उहाँलाई पार्टीले मन्त्री बनाएको हो, त्यसैले महत्वपूर्ण राजनीतिक नियुक्ति गर्दा उहाले पार्टीसंग सल्लाह लिनुपर्ने थियो’ श्रेष्ठले भने,’तर सदस्यसचिव नियुक्ति गर्दा पार्टीमा कुनै छलफल नै नगरी उहाले निर्णय गर्नुभयो ।’ पार्टीको पद्धति बुझेको व्यक्तिले नै उल्लंघन गरेको श्रेष्ठको तर्क छ । ‘पौडेल पार्टीप्रति उत्तरदायी हुनु भएन’ श्रेष्ठले भने,’दलीय पद्धतिमा पार्टीप्रति उत्तरदायी नहुने हो भने त्यस्तो व्यक्ति पार्टीले पठाएको मन्त्री पदमा नबसिदिंदा राम्राे हुन्छ ।’

एमालेभित्र राजनीतिक नियुक्ति लगायत अन्य सरकार र सरकारी निकायहरुसंगका काम हेर्नका लागि राज्य व्यवस्था विभाग छ । पार्टी भित्रको पद्धतिअनुसार नियुक्ति हुने पदमा कसलाई लैजाने भन्नेबारेमा विभागले छलफल गरी पार्टीको स्थायी समिति र केन्दि्रय समितिमा पेश गर्छ । त्यसको आधारमा निर्णय भएपछि सिफारिस गरिन्छ । तर यो पद्धतिको लामो समयदेखि एमालेमा अभ्यास हुन छोडेको छ । पार्टी भित्र छलफल नगरी केही नेताहरु बसेर निर्णय गर्ने प्रबृत्ति बढेको छ । माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्री हुदा समेत धेरै नयुक्तिहरु पार्टी भित्र छलफल नभइकन भएका थिए । त्यसैले यो निर्णयमा पनि मन्त्री पौडेलले छलफल नगरी आफैले निर्णय गरे ।

‘यो निर्णय पद्धतिअनुसार भएन भन्ने हो भने यसअघिका निर्णयहरु पनि उल्टाएर नयाँ ढंगले जानुपर्छ’ उपमहासचिव भुसालले भने,’यदी त्यसो नगर्ने हो भने एउटा नियुक्तिलाई मात्र लिएर मन्त्रीलाई हटाउनु हुदैन ।’

राजनीतिक नियुक्ति र कार्यक्षमतालगायतका कारण दिएर यसअघि पनि एमालेले मन्त्री फेरबदल गरेको थियो । एक महिना अघि पर्यटनमन्त्री दीपक अमात्यले राजिनामा दिएका थिए । सभासद कृपासुर शेर्पालाई पर्यटनमन्त्री बनाइएको छ । त्यसअघि पर्यटनमन्त्री भिम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई एमालेले हटाएको थियो । कार्यक्षमता राम्ररी प्रदर्शन गर्न नसकेको कारण देखाएर उनीहरुलाई हटाइएको थियो । तर मन्त्रीबाट हटेपछि उनीहरुले नेताहरुको स्वार्थ पुरा गर्न नसक्दा आफूहरुलाई हटाइएको अभिव्यक्ति दिएका थिए  । कान्तिपुरबाट


  •  
  •  
  •