एमालेको जलपानमा नेताहरूका रमाइला सवालजवाफ

191
  •  
  •  
  •  

काठमाडौं २ कात्तिक ।
त्रकार : राष्ट्रिय सहमतिबाट संविधान बन्ने आधार के छ ?

प्रचण्ड : यसको छोटो उत्तर यो शुभकामना आदानप्रदान, चियापान कार्यक्रम नै सहमतिको आधार हो । राजनीतिक कुरा गर्नुहुन्छ भने हामी १२ बुँदेदेखि विभिन्न सहमति र समझदारीको प्रक्रियाबाट आएका छौँ, ठुल्ठूला सम्झौता, समझदारी गरेका छौँ त्यही नै आधार हो । अलिकति राजनीतिमा उतारचढाव हुन्छ । तर, सहमतिको विकल्प छैन, हामी जहाँ–जहाँ जसरी भए पनि सहमति कायम गर्ने र ८ माघभित्र संविधान बनाउने उद्देश्यमा केन्द्रित छौँ । राष्ट्रिय सहमतिका साथ ८ माघमा संविधान आउँछ, आउनैपर्छ ।

पत्रकार : आन्दोलन के हुन्छ ?

प्रचण्ड : आन्दोलन पनि सहमतिकै लागि हो । हिजो मैले भनेको सुनिहाल्नुभयो । यो सहमतिकै लागि हो, संविधानकै लागि हो, सल्लाह–सुझाबका लागि हो भनेको छु । त्यसले संविधान बनाउन मद्दत नै गरेको छ ।

पत्रकार : जनविद्रोहको नेतृत्व गर्छु भन्नुभयो नि ?

प्रचण्ड : त्यो त संविधान बनेन, धोका भयो, षड्यन्त्र भयो भने हो । त्यो सर्तसहित भनेको छु मैले । अब मलाई मात्रै नसोध्नुस् न ।

देउवा : यहाँ कसैका कुरा काटेर काम छैन । एक–अर्काका कुरा काट्नु त भएन नि । नकाटी पनि भा’छैन । संविधानसभाका सबै सदस्यले कुनै षड्यन्त्र गर्ने छैनन् । हामी सबै संविधान बनाउनेवाला छौँ । अब आन्दोलन गर्नेलाई सोध्नुस् है उहाँले के गर्नुहुन्छ । उहाँको जिम्मा म लिन सक्दिनँ । आन्दोलन गर्नेको के जिम्मा लिनु त ? आन्दोलन गरेर के संविधान बन्छ त ? लचिलो हुनुस् न अनि बन्छ ।

प्रचण्ड : होइन, संविधानसभाका सबै सदस्यमा म पर्दिनँ र भन्या ? सबै मलाई भन्छन् ।

देउवा : होइन के । षड्यन्त्र भनेर तपाईंले कसलाई भन्न खोज्या हो ? हामी षड्यन्त्र गर्दै गर्दैनौँ ।

प्रचण्ड : ल भयो नि त । नगरेदेखि त सहमति भइहाल्छ नि ।

देउवा : होइन यो विद्रोह गर्ने भनेको कुरा के हो ? मैले बुझ्न सक्या छैन के ।

पत्रकार : तपाईंहरू बाहिरै त यति झगडा गर्नुहुन्छ, भित्र के गर्नुहोला ?

प्रचण्ड : भित्र त एकदम माया गर्छाैँ ।

देउवा : कहाँ झगडा गरेको छ ? हाँसेर बोल्या छौँ, हाँसेर ।

पत्रकार : माघ ८ गते संविधान नआउने भयो होइन त ?

देउवा : आउने भयो, किन नआउनु नि ।

पत्रकार : आन्दोलन जारी रह्यो भने आउँछ कि आउँदैन ?

देउवा : त्यो त उहाँ (प्रचण्ड)लाई सोध्नुस् क्या । हामी त संविधानसभामै भन्ने नि, किन बाहिर भन्ने सबै कुरा । आन्दोलनको कामै छैन नि ।

केपी ओली : यो कार्यक्रमको नाम नै शुभकामना आदानप्रदान । त्यसकारण सबैमा म शुभकामना व्यक्त गर्छु । मैले सबैलाई हार्दिक आमन्त्रण गरेर यस जलपानमा बोलाएको छु । यसकारण म कुनै नेताको सम्बन्धमा, पार्टीको सम्बन्धमा टिप्पणी गर्न चाहन्नँ । यत्ति भन्छु, माघ ८ भित्र संविधान बन्छ । नेपाली जनतासित गरेका कबुलअनुसार हामी जान्छौँ । असम्भव कुरा गरेर हिँड्दैनौँ, सम्भव कुरा गर्छाैँ । एकताका साथ संविधान बन्छ ।

पत्रकार : प्रचण्डलाई साथमै राखेर कि बाहिर राखेर ?

ओली : उहाँ मेरो नजिकै हुनुहुन्छ । मैले यहाँ बोलाएको । हामी दुई अलग पार्टीको प्रतिनिधित्व गर्छाैँ । हाम्रा केही विचार, कार्यक्रममा भिन्नता छ । त्यसको अर्थ संविधान बनाउने प्रश्नमा भिन्नता हुनुहुँदैन । एकरूपताका साथ अगाडि जानुपर्छ । सहमति प्राप्त गर्ने हाम्रो कोसिस छ । प्रयास अनवरत जारी राखेका छौँ, माघ ८ भित्रै संविधान जारी गर्छाैँ ।

पत्रकार : प्रक्रियामा गएर कि सहमतिका साथ ?

ओली : सहमतिसाथ, तर शतप्रतिशत सहमतिबारे धेरै कुरा भन्न सक्दिनँ । शतप्रतिशत भएन भने आवश्यक सहमतिका साथ संविधान जारी हुन्छ ।

पत्रकार : दुईजना नेताहरूको कुरो सुन्दा त त्यो देखिएन नि ?

ओली : सहमति हुन्छ, हामी कुराकानीमा छौँ ।

देउवा : सहमति हुन्न कल्ले भन्या छ यहाँ ? सबै लचिलो हुनुपर्छ । कांग्रेस लचिलो भइसक्या छ । अब उहाँ (प्रचण्ड) लचिलो भए त पुगिहाल्यो नि ।

प्रचण्ड : खालि मलाई मात्रै भन्ने ? सबैभन्दा बढी एमाओवादी लचिलो भा’छ ।

माधव नेपाल : संविधान बन्छ कि बन्दैन भन्ने कुराको अन्तिम फैसला कमरेड प्रचण्डले गर्ने हो । उहाँको लचिलोपनाले संविधान निर्माण हुने स्थिति बन्छ, अरूले पनि आवश्यक लचकता अपनाउनुपर्छ ।

प्रचण्ड : माधवजीलाई धेरै–धेरै धन्यवाद । म के कुरा प्रस्ट पार्न चाहन्छु भने मैले युद्धबाट शान्तिमा आउन, शान्तिप्रक्रियाबाट संविधानसभामा जान, संविधानबाट गणतन्त्र, सेना समायोजन, हतियार व्यवस्थापन सबैतिर लचकता देखाएकै छु । अहिले पनि हामीले आफ्नो ठाउँबाट लचकता देखाएर सहमतिमा संविधान बनाउन हामी लचिलो छौं । कांग्रेस–एमालेले पनि आफ्नो ठाउँबाट लचकता देखाउनुपर्छ । हामी कसैले पनि अहंकार राख्नुहुँदैन, मेरो भन्नु यत्ति छ ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •  

Comments are closed.