काठमाडैं, २८ साउन : ‘हारेका मान्छेलाई पनि विधान मिची केन्द्रीय कमिटीमा ल्याएर आरामदायी बहुमत पुर्याउँछु भन्ने होला, विधान मिच्न पाइँदैन । बरु चार जनालाई नै ल्याउने हो भने केन्द्रीय कमिटीको आकार १ सय ६१ सदस्यीय बनाऔं ।’ नेकपा एमालेको हिजोदेखि सुरु केन्द्रीय कमिटीको दोस्रो बैठकमा उपाध्यक्ष वामदेव गौतम कड्किएको दृश्य नयाँ केन्द्रीय सदस्यहरूले रमाइलो मानेर हेरे ।
बैठकको सुरुमै महासचिव ईश्वर पोखरेलले नवांै महाधिवेशनमा बराबर मत ल्याउने चारै जनालाई केन्द्रीय कमिटीमा मनोनीत गर्ने प्रस्ताव पेस गर्नुभएको थियो । नवांै महाधिवेशनमा खुलातर्फ खिमलाल भट्टराई र नागेन्द्र चौधरी र मुस्लिम कोटामा मोहम्मद महफुज अन्सारी र सिराज अहमद फारुकीले बराबर मत ल्याएका थिए । पोखरेलले प्रस्ताव गरेपछि त्यसको व्याख्या गर्दै अध्यक्ष केपी ओलीले अनुमोदनका लागि आग्रह गर्नुभएको थियो । तर, त्यसमा उपाध्यक्ष गौतमलाई चित्त बुझेको रहेनछ । ‘बरु गोला प्रथा गराऔं, उहाँहरू टिप्न मान्नु हुन्न भने अरूले नै टिपिदिउँ । तर, चारै जनालाई मनोनीत गरेर विधान मिच्न पाइँदैन’– गौतमको भनाइ उद्घृत गर्दै स्रोतले भन्यो– ‘उहँँको हाउभाउ र प्रस्तुति हेर्दा अध्यक्ष र महासचिव मिलेर आफूहरूको मात्र बहुमत पुर्याउने र आफूलाई एक्ल्याउने शंका रहे जस्तो बुझिन्थ्यो ।’ गौतमले पाँचौं महाधिवेशनदेखिका अनेक प्रसंग निकाल्दै आठौं महाधिवेशनमा पनि काशीनाथ अधिकारीलाई ल्याएर १ सय १६ सदस्यीय कमिटी बनाइएको स्मरण गराउनुभएको थियो । उहाँको भनाइ थियो‘हिजो काशीनाथलाई मनोनीत नगरी बैठक नै बस्न सक्दैन भनेर चिच्याउने को ?’ हारेकालाई पनि ल्याएर पछि मनोनीतमा हारेकालाई ल्याउन बाटो खुला गरिएको त होइन भन्नेमा गौतमले आशंका व्यक्त गर्नुभएको थियो ।
बैठकमा आफ्नो प्रसंग आएपछि काशीनाथ अधिकारी पनि बोल्नुभएको थियो । ‘मलाई केन्द्रीय कमिटीमा मनोनीत हुने कोटाबाट कटाएरै ल्याइएको हो, अप्ठ्यारो लागी–लागी पनि मैले ऊर्जाका साथ काम गरें’– बैठकमा अधिकारीले भन्नुभयो । उक्त प्रस्तावको महासचिवमा पराजित सुरेन्द्र पाण्डेले पनि विरोध गर्नुभएको थियो । ‘मेरो र ईश्वर कमरेड अनि माधव कमरेड र ओली कमरेडको मत बराबरी भएको भए चाहिँ के गर्नुहुन्थ्यो, दुवै जनालाई ल्याउनुहुन्थ्यो ?’– पाण्डेको प्रश्न सुनेर हलमा हाँसो गुन्जिएको थियो । केन्द्रीय सदस्यहरूबीच मत बाझिँदै गएपछि समस्या समाधान गर्न माधव नेपालले मध्यस्थता गर्नुपरेको थियो । उहाँले पछि मनोनीत हुने १६ जनाबाट दुई जना घटाएर १४ जना गरिनुपर्ने र अहिलेलाई चारै जनालाई ल्याउनुपर्ने कुरा राखेपछि बैठकले त्यसैलाई स्वीकारेको थियो । हलले स्वीकार्दा पनि गौतम भने ‘हारेकालाई पास गर्दै जाँदा पार्टी कहाँ पुग्छ ?’ भन्दै एक्लै भट्भटाइरहनुभएको थियो ।
बैठकले महासचिव पोखरेलको संयोजकत्वमा उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र पाँच जना सचिवहरु गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, योगेश भट्टाराई, पृथ्वी सुब्बा गुरुङ र भीमप्रसाद आचार्य बल्खुमा … सदस्य रहेको सचिवालय गठन गरेको छ । एमाले दैनिन्दिन काम यही सचिवालयले गर्ने गर्दछ । करिब २ घन्टा बसेको हिजोको बैठकमा राजनीतिक प्रतिवेदन, विधान र संगठनात्मक प्रस्ताव, बैठक सञ्चालन कार्यविधि तथा समीक्षा प्रतिवेदन ल्याउन नसकेकोमा हलसमक्ष माफी मागिएको थियो । समीक्षा प्रतिवेदनबाहेक अरू प्रतिवेदनको फोटोकपी मगलबारै बेलुकी केन्द्रीय सदस्यहरूको हात–हातमा पुर्याइने बताइएको थियो ।
पहिलो बैठकले कार्यसूची तय गरे पनि दोस्रो बैठकले तीमध्ये केही थाती राख्ने सम्भावना छ । स्थायी समिति र पोलिटब्युरोको निर्वाचन तथा केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजनका बारेमा नेताहरूबीच कुराकानी नै नभएकाले यसपटक निर्णय हुने सम्भावना कम रहेको छ । नेपाल पछाडि बस्दा… मंगलबारको बैठकमा पनि सधैंझैं सुरुमै पुग्नुभएका वरिष्ठ नेता नेपाल बैठक कक्षमा कोही नदेखेपछि माथिल्लो तलामा रहेको पुस्तकालयमा छिर्नुभएको थियो । पछि पदाधिकारी र सदस्यहरू आएपछि उहाँ बैठक कक्षमा प्रवेश गर्दा पदाधिकारी बस्ने मञ्चमा सबैले आसन ग्रहण गरिसकेका थिए । नेपाल सरासर केन्द्रीय सदस्य बस्ने लहरमा बस्न पुग्नुभयो । त्यो दृश्य देखेका अध्यक्ष ओलीले तत्कालै उहाँलाई अगाडि आउन आग्रह गर्नुभयो र छेउमै बसेका उपाध्यक्ष वामदेव गौतमलाई एक स्टेप उता सर्न भन्नुभयो । त्यसपछि अर्का वरिष्ठ नेता झलनाथ खनालको छेउमा नेपाललाई बस्ने व्यवस्था मिलाइएको थियो ।
साभार :बुधबार साप्ताहिकबाट