काठमाडौं, १ साउन । (ओएनएस) । निकै लामो र झन्झटिलो भएको नेकपा एमालेको नवौं महाधिवेशन मतगणनामा पनि भद्रगोल भयो । मतगणना स्थलमा दुबै पक्षका नेताहरुबीच देखिएको अविश्वासले गर्दा मतगणना सकिए पनि पुनः जोड्ने काम भयो। जसले गर्दा अघिल्लो दिन हारेका भनिएका भोलिपल्ट जित्न पुगे भने जितेका भिनएका हार्न पुगे ।
यसरी विजयी भएको भनेर बधाइसमेत पाइसकेका ओली पक्षीय नेता गोपाल शाक्य पराजित भए भने ओली पक्षकै हारेको भनिएका उद्योगमन्त्रीसमेत रहेका कर्णबहादुर थापा विजयी भए । ओली प्यानलबाटै जितेको भनिएका बैतडी १ का सभासद दामोदर भण्डारी पनि पराजित भएका छन् ।
त्यस्तै जितेका भनिएका माधव नेपाल प्यानलका नागेन्द्र चौधरी र हारेको भनिएका ओली प्यानलका खिमलाल भट्टराईको मत बराबरी भएकाले जित्नेको टुंगो लगाउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । उनीहरुले आजै पार्टी मुख्यालय बल्खुमा चिठ्ठा तान्ने जनाइएको छ । यस्तै वैकल्पिक केन्द्रीय सदस्यमा जितेका भनिएका नेपाल प्यानलका शोभियत ढकाल पराजित भएका छन् भने ओली प्यानलका खेम लोहनीले विजयी भएका छन् ।