माघ ८ लेखा–जोखा (भाग ४ )

129
  •  
  •  
  •  

काठमाडौँ, १७ पुस (ओएनएस) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच चलेको राजनीतिक जुहारीको रन्को हराइसकेको छैन । एमाले अध्यक्ष ओलीले जातीय आधारमा राज्यको पुनःसंरचना गर्न नहुने अडान लिए । जातीयताका सम्भावित जोखिम औँल्याउने क्रममा उनले रुवान्डाको दृष्टान्त दिए । उनको चट्टाने अडानप्रति रुष्ट भएर निस्किएका प्रचण्डले ओलीलाई महाराजदेखि ठेकेदारसम्म भन्न भ्याए ।

रोचक पक्ष के भने यो मुलुकको भाग्य र भविष्यको फैसला गर्नुपर्ने यो निर्णायक घडीमा संविधानसभाको सबैभन्दा ठूलो दल कहाँ छ ? यो मुलुकका प्रधानमन्त्री कहाँ छन् ? खोज्नुपर्ने अवस्था छ । नेपाली कांग्रेसले साँधेको मौनता बुझिनसक्नु छ ।

यसअघि राजनीतिका यस्तै जटिल र निर्णायक घडीमा चुप लाग्ने वा द्वैअर्थी कुरा गर्ने स्वभाव एमालेको थियो । यही स्वभावका कारण एमालेले के–सम्मका टिप्पणी सुन्नुपरेन ? लिंग पहिचान नभएको पार्टीको संज्ञा यसैले पायो ।

अहिले दृश्य ठीक उल्टो देखिएको छ । मौनता साँधेर बस्ने कांग्रेस भएको छ । चर्काचर्की गर्ने एमाले र एमाओवादी बनेका छन् । अर्थात्, कांग्रेसले मध्यमार्गी बाटो अपनाएको छ । मध्यमार्ग आफैमा एक बहुअर्थी शब्द हो । यसले कहिलेकाहीँ द्वन्द्व र जटिलता बढ्न दिँदैन । दुई उग्र पक्षलाई मिलाउने काम गर्छ । तर, नेपाली राजनीतिमा मध्यमार्गको काम जता मल्कु, उतै ढल्कु भएको छ ।

दुई पक्षलाई लडाएर आफ्नो भागमा ठूलो हिस्सा पार्ने खेलमा मध्यमार्ग सीमित भएको छ । राजनीतिक विचारधाराका हिसाबले कुनै शक्ति मध्यमार्गी होस् कि नहोस्, राजनीतिक शक्तिसन्तुलनका आधारमा मध्यमा उभिएर शक्ति र सुविधा हत्याउने होडमा लागेको छ । अहिले कांग्रेसको स्थिति पनि त्यही हो भन्दा फरक पर्ने देखिँदैन । एमाले र एमाओवादी जति धेरै लडिरहन्छन्, सुशील कोइरालाको बालुवाटार बसाइँ त्यति नै लम्बिन्छ भन्ने बुझाइ कांग्रेसजनमा हावी भएको देखिन्छ । त्यसैले कांग्रेस अहिले तुष्टिकरणको बाटोमा अग्रसर छ ।

अब रह्यो एमालेको पालो । एमालेले अहिले लिएको अडानमा इमानदार रही रह्यो भने यो उसको लिंग स्थापित गर्ने मौका हो । यहि मौकामा राजनीतिक नेतृत्वले जोखिम पनि मोल्न तयार हुनुपर्छ । सम्भावित पद र अवसर त्याग्न पनि तयार हुनुपर्छ ।

आफ्ना, आफन्त, कुल, वंशका विरुद्ध जान पनि सक्नुपर्छ । वामपन्थी वंशका माक्र्सवादी कुलका प्रचण्डपथीय विचाराधाराका विचलन र भड््कावहरुका विरुद्धमा अरुको मुख नताकी एमाले अड्न सक्यो भने त्यसले ठूलो दुर्घटनाबाट मुलुकलाई जोगाउनेछ । भलै, कांग्रेस, एमाओवादी र मधेसवादी सबैलाई खुसी नपारेसम्म केपी ओली प्रधानमन्त्री बन्न पाउने छैनन् । उनी प्रधानमन्त्री नबन्दा मुलुकले खासै केही गुमाउने छैन । तर, एमालेले जातीयताका विरुद्धमा जुन अडान राखेको छ, त्यसबाट नेपाली समाजलाई धेरै ठूलो गुन लाग्नेछ । आफ्नो सम्पूर्ण सांगठनिक संयन्त्रका माध्यमबाट जातीयताका बारेमा जति धेरै सुसूचित, सुशिक्षित र सचेत बनाउनेछ, त्यति नै उसको प्रभाव र जनमत बढ्नेछ ।

ओलीकै भनाइमा, राज्यको पुनःसंरचनाका नाममा तराईको समथर भूमिजति पहाडमा मिलाउनै नहुने, एक जातिले अर्को जाति, एक भाषिक समुदायले अर्को भाषिक समुदायप्रति अत्यन्त घृणा फैलाउने खासका प्रयास भए । कुनै जातिविशेषको नामै किटेर आँखाका नानी निकालेर गुच्चा खेल्ने, टाउको काटेर फुटबल खेल्ने भन्नेसम्मका अभिव्यक्ति सार्वजनिक मञ्चबाट व्यक्त भए । नेपालजस्तो बहुजातीय, बहुभाषिक, भौगोलिक विविधतायुक्त मुलुकमा यसै त जाति र भाषापिच्छे राज्य वा अन्य कुनै प्रकारका प्रशासनिक संरचना खडा गर्न व्यावहारिक छैन, त्यसमाथि एउटै जातिभित्र पनि राज्य पाउने र नपाउने गरी दुई खालका नागरिकता सिर्जना गर्नेसम्मका कोशिस भए । यस्ता प्रयासका विरुद्धमा आजसम्म मूलधारका कुनै पनि राजनीतिक दल वा बुद्धिजीवी तप्काबाट यो स्तरको प्रतिवाद भएको थिएन, जुन ओलीबाट भएको छ ।

KP madhav

खासमा यो काम प्रधानमन्त्री सुशील कोइरालाबाट हुनुपथ्र्यो, भएन । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले यो साहस गर्नुपथ्र्यो । विपक्षी दललगायत असन्तुष्टहरूका आवाज सम्बोधन गर्न पहलकदमी लिनुपर्ने जिम्मेवारीबाट उनी पन्छिँदै आए । जायजलाई जायज र नाजायजलाई नाजायज भन्ने दायित्वबाट विमुख हुँदै आए । राजीतिक पहलकदमीका साथ संविधानसभालाई यथार्थ जानकारी गराउने र त्यो जनप्रतिनिधिमूलक संस्थालाई क्रियाशील बनाउन प्रधानमन्त्री कोइराला लागेको देखिँदैन । संविधान निर्माणको प्रक्रियालाई जसरी पनि निष्कर्ष दिनुपर्छ भनेर मरिमेट्नुपर्ने संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेस यसरी नेपथ्यमै अल्मलिन्छ भने उसको अकर्मण्यतासँगै एमालेले पनि साथसाथै मलामी जानुपर्छ भन्ने छैन । आफूलाई कांग्रेसकै हाराहारी शक्तिको दावी गर्ने एमालेले जायज पहल गर्नैपर्छ ।

एमाओवादीका उग्र जातिवादी, भड्काववादी प्रकृतिका अडानहरूको उचित तवरले प्रतिवाद नहँुदा लामो समय राष्ट्रिय राजनीति नै उसले आफ्नो वरिपरि घुमाउने मौका पायो । अहिले पनि उसले संविधानसभाको स्वाभाविक प्रक्रियालाई बिथोल्ने र माघ ८ को समयसीमा कटाउने रणनीतिमा लागेको हो कि भन्ने आम आशंका छ । यस कुराका सबैभन्दा बढी जानकार अरु कोही छन् भने ती कांग्रेस र एमाले नै हुन् ।

त्यसैले समयमै यो कुरा बुझेर कांग्रेस–एमालेले निकासको वैकल्पिक उपायसमेत खोज्न सक्नुपर्छ । माघ ८ भित्रै संविधान जारी गर्ने प्रक्रियाको पहलकदमी सुरु गर्नुपर्छ । कांग्रेसको अल्छीपनाले यो मुलुकको महत्वपूर्ण समय खेर जान्छ भने त्यसको भण्डफोर गर्न पनि एमाले तयार हुनुपर्छ । मध्यमार्ग भनेको ऐनमौकामा मौन बस्नु होइन । मुलुकलाई डुब्न दिनु होइन । संविधानसभालाई खेर जान दिनु होइन ।

भारतीय राजनीतिमा मध्यमार्गी कांग्रेसको के हालत भएको छ र दक्षिणपन्थी बीजेपी कसरी तहल्का पिटाइरहेको छ भन्ने तथ्यले पनि कांग्रेस–एमालेको आँखा खोलिदिन सक्छ । त्यसैले एमालेले जसरी मुख खोलेको छ, त्यो ठीक छ । कम्तीमा उसको लिंग स्थापित गर्नको लागि । यसलाई निर्णायक बनाउनको लागि त कि कांग्रेसलाई जगाउन सक्नुपर्छ, होइन भने यिनै एजेन्डामा जनमत (संग्रह÷संकलन)मा जानुपर्छ ।


  •  
  •  
  •