कार्यविभाजन विवाद बल्झिएपछि एमाले स्थायी समिति स्थगित

110
  •  
  •  
  •  

काठमाडौं, १० चैत (ओएनएस) : नेकपा एमालेको कार्यविभाजन विवाद बल्झिएपछि एमाले स्थायी समिति बैठक बुधबारसम्मको लागि स्थगित भएको छ । यसअघि प्रस्तुत गरिएको कार्यविभाजनमा माधव नेपाल पक्षले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो ।

अध्यक्ष केपी ओली निवासमा बोलाइएको बैठकमा वरिष्ठ नेता माधव नेपाल अनुपस्थित भएका थिए । वरिष्ठ नेता माधव नेपालले भने ओली निवास बालकोटमा बोलाईएको बहिष्कार गर्दै आएका छन् नेता नेपालले पार्टीको औपचारिक बैठक पार्टी कार्यालयमै गर्नुपर्ने अडान राख्दै ओलीनिवासमा डाकिएका बैठकहरु यसअघि पनि बहिष्कार गर्दै आएका हुन् ।

बैठकका लागि वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावल र विद्या भण्डारी, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङ, मुकुन्द न्यौपानेलगायतका नेता निर्धारित समयमै ओली निवास पुगेका थिए ।

नेपाल अनुपस्थित भएपछि यसअघि प्रस्तुत गरिएको कार्यविभाजनलाई परिमार्जन गर्दै पुनः स्थायी कमिटिमा पेश गर्न महासचिव पोखरेललाई जिम्मा दिइएको छ । पोखरेललाई मापदण्डअनुसार कार्यविभाजन गरि पेश गर्न भनिएको छ ।

यसअघि सोमबार महासचिव पोखरेलले १ सय ८४ जना केन्द्रीय नेताहरुको कार्यविभाजन प्रस्ताव पेश गरेका थिए । महासचिवको उक्त प्रस्तावमा माधव नेपाल पक्षका नेताहरुले असन्तुलित भएको भन्दै असहमति प्रकट गरेका थिए ।

नवौं महाधिवेशनपछि निर्वाचित नेतृत्वको कार्यविभाजन प्रस्ताव छलफलका लागि लगे लगत्तै विवाद भएको हो । समग्र पार्टी कामको नेतृत्व र स्कूल विभागको जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई, नीति तथा अध्यन अनुसन्धान बरिष्ठ नेता झलनाथ खनाल, विदेश विभाग माधवकुमार नेपाल, संगठनात्मक कामको नेतृत्व महासचिव ईश्वर पोखरेलले लिनेगरि कार्यविभाजनको प्रस्ताव गरिएकाे थियाे ।

उपाध्यक्षहरुमा बामदेव गौतमलाई मध्यपश्चिमाञ्चल, विद्या भण्डारी मध्यमाञ्चल, युवराज ज्ञवाली पूर्वाञ्चल, अष्टलक्ष्मी शाक्य पश्चिमाञ्चल र भिम रावललाई सुदरपश्चिमाञ्चल र प्रवासको इन्चार्ज बनाउने उल्लेख छ ।

त्यस्तै महासचिव इश्वर पोखेरेलले समग्र पार्टी कामको संयोजन, उपमहासचिव विष्णु पौडेललाई पार्टी विभाग, संगठनहरुहरुको संयोजन, उपमहासचिव घनश्याम भुसाललाई राज्य सञ्चालनसंग सम्बन्धि विभागहरुको अनुगमनको जिम्मेवारी दिने उल्लेख छ ।

त्यस्तै सचिवहरु मध्ये प्रदीप ज्ञवालीलाई केन्द्रिय सचिवालय, पृथ्वी सुब्बा गुरुङलाई संगठन विभाग, भिम आचार्यलाई राजकीय मामिला, गोकर्ण विष्टलाई मोर्चा संगठन र योगेश भट्टराईलाई प्रचार विभागको जिम्मेवारी दिने उल्लेख छ । १७ वटा अञ्चल इन्जार्ज मध्ये अधिकांशमा ओली निकटलाई जिम्मेवारी दिने प्रस्ताव छ ।


  •  
  •  
  •